सुजल डेरीको व्यापार २ अर्ब ३३ करोड, ३ वर्षमै दोब्बर हुँदा ऋण पनि घटाउँदै

427
Shares

काठमाडौं । सुजल डेरीको व्यापार बढेको छ । सुजल डेरीले सन् २०२३ को तुलनामा सन् २०२४ मा आफ्नो व्यापार निकै बढाएको हो । यसैगरी २०२१ को तुलनामा दोब्बर भएको हो ।

सन् २०२३ मा सुजल डेरीले १ अर्ब ८६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२४ मा आउँदा सुजल डेरीले २ अर्ब ३३ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । लक्ष्मी समूहको लगानी रहेको सुजल डेरी सन् २००५ मा स्थापना भएको डेरी हो । डेरीले सम्पूर्ण दूध, दही, आइसक्रिम, स्किम्ड मिल्क पाउडर, बटर, घिउ, पनिर, होल मिल्क पाउडर बच्ने गर्दछ ।

गण्डकीको पोखरामा मुख्य कार्यालय रहेको सुजल डेरीको सञ्चालन नाफादर बढेर ५.६ प्रतिशत पुगेको छ । कम्पनीको सन् २०२३ को नाफा मार्जिन ४.२ प्रतिशत रहेको थियो । गत वर्षको प्रोफिट मार्जिन पछिल्लो ३ वर्षकै बढी हो ।

एक वर्षमा सुजलको डेरी व्यापार ४६ करोड १० लाख रुपैयाँले बढेको छ । कम्पनीले सन् २०२२ मा सुजलले १ अर्ब ७१ करोड, २०२१ मा १ अर्ब २१ करोड र २०२० मा १ अर्ब १९ करोड ५० लाखको व्यापार गरेको थियो ।

सुजलले सफल र सफल लभ बर्डस्को ब्रान्डमा आफ्नो उत्पादन बिक्री गर्ने गर्दछ ।

सुजल डेरी लक्ष्मी ग्रुपको लगानी छ । कम्पनीको मुख्य सेयरधनीहरु अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अञ्जन श्रेष्ठ, निराजन श्रेष्ठ र निराकर श्रेष्ठको बराबर १८ प्रतिशत स्वामित्व छ । बाँकी १० प्रतिशत स्वामित्व सुजल फुड्सको नाममा रहेको छ ।

सुजल डेरीको २ तिहाइ आम्दानी दूध, पूर्ण दूध, दही र आइसक्रिमबाट हुने गर्दछ ।

कम्पनीले करिब ७० करोड रुपैयाँ कर्जा लिएको छ । जुन अघिल्लो वर्षको तुलनामा घटेको हो ।

ऋण घटाएको सुजलले ऋण लागि गराएको रेटिङमार्फत् सीमा पनि कम गरेको छ ।

सुजल डेरीले अल्पकालिन श्रणका लागि २४ करोड ९५ लाखको रेडिङ गराएको छ । त्यस्तै दिर्घकालीन ऋणका लागि ६२ करोड १२ लाख रुपैयाको रेटिङ गराएको छ । यसरी कुल ९० करोड ऋणका लागि रेटिङ गराएको सुजलले गत वर्ष ९३ करोडको रेटिङ गराएको थियो ।

सुजल डेरीले गराएको दीर्घकालीन ऋणका लागि इक्रा एलबी प्लस रेटिङ पाएको छ भने अल्पकालीन ऋणका लागि इक्रा ए ४ रेटिङ पाएको छ ।