
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नयाँ एयर फोर्स वन विमान बनाउन भएको ढिलाइप्रति बोइङ कम्पनीमाथि असन्तुष्टि पोखेका छन् ।
धेरैअघि सम्झौता भएको भने पनि बोइङले काम नगरेको उनको आरोप छ ।
‘हामीले धेरै पहिला यो सम्झौता गरेका थियौं, तर बोइङलाई काम गर्न धेरै समय लागिरहेको छ । म विकल्प खोजिरहेको छु,’३५ वर्ष पुराना राष्ट्रपति विमानमध्ये एकमा यात्रा गरिरहेका बेला ट्रम्पले भने ।
उनको पहिलो कार्यकालमा बोइङ ७४७-८ मोडलका दुई नयाँ राष्ट्रपति विमानको सम्झौता गरिएको थियो ।
‘म बोइङसँग खुशी छैन । हामीले धेरै पहिला सम्झौता गरेका थियौं, तर धेरै समय लागिरहेको छ । हामी अर्को विमान किन्न सक्छौं वा अरू कुनै व्यवस्था गर्न सक्छौं,’ट्रम्पले भने ।
बोइङको प्रतिस्पर्धी एयरबसबाट नयाँ विमान किन्ने विचार गरिरहेको हो भन्दै गरिएको प्रश्नमा उनले भने, ‘होइन, म एयरबस किन्न चाहन्नँ । तर म एउटा पुरानो विमान किनेर त्यसलाई परिमार्जन गर्न सक्छु ।’
केही दिनअघि ट्रम्पले पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा पार्क गरिएको कतारी राजपरिवारको स्वामित्वमा रहेको १३ वर्ष पुरानो बोइङ ७४७-८ विमानको निरीक्षण गरेका थिए।
नयाँ विमान २०२४ मा डेलिभरी हुने बताइएको भए पनि अब बोइङले सन् २०२७ वा २०२८ सम्ममा मात्र विमान दिन सक्ने जनाएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सम्झौताको लागत धेरै महँगो भएको भन्दै बोइङलाई फेरि वार्ता गर्न बाध्य पारेका थिए । सम्झौताले बोइङलाई अहिलेसम्म अर्बौं डलर घाटा पुर्याइसकेको छ।
राष्ट्रपति विमानलाई विशेष बनाउन महँगो पर्छ । किनभने यसमा अतिगोप्य तथा जटिल सञ्चार प्रणाली, सुरक्षा, र पहुँच सुधारका विशेषताहरू जडान गर्नुपर्छ ।
बोइङका लागि गत वर्ष निकै खराब रह्यो । कम्पनीले २०२४ मा कुल ११.८ अर्ब डलर घाटा बेहोरेको थियो । २०२० पछि यो बोइङका लागि सबैभन्दा नराम्रो अवस्था हो
डिसेम्बरसम्मको तीन महिनामा मात्र कम्पनीले ३.८ अर्ब डलर गुमाएको थियो । व्यावसायिक विमान निर्माणसम्बन्धी समस्यासँगै बोइङले केही रक्षा परियोजनामा पनि कठिनाइहरूको सामना गरिरहेको छ ।
बोइङले आफ्ना ७४७/ ८०० विमानमध्ये दुईवटा परिमार्जन गरिरहेको जनाइएको छ । जसले राष्ट्रपतिले हाल प्रयोग गरिरहेका दुई पुराना बोइङ ७४७-२०० विमानलाई प्रतिस्थापन गर्नेछन्।
अमेरिकी राष्ट्रपति जहाजमा हुँदा एयर फोर्स वन कल साइन प्रयोग गर्नेछ । राष्ट्रपति डोनाल्ड ट्रम्प एयर फोर्स वनलाई शक्ति र प्रतिष्ठाको प्रतीक मान्छन् । तर आफ्नो दोस्रो कार्यकाल पनि पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यू बुसको पालादेखि प्रयोगमा रहेका ती पुराना विमानमै यात्रा गर्नुपरेकोमा उनी रिसाएका हुन् ।








प्रतिक्रिया