अबको कार्यभार स्थिर राजनीतिको जगमा आर्थिक क्रान्तिको लागि हो : उपप्रधानमन्त्री सिंह

84
Shares

बर्दिया । उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थीरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘ हालसम्मको प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन र जिविकोपार्जन सहज बनाउनु रहेको बताए ।

उनले भने ‘प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थीरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो,’ उपप्रधानमन्त्री सिंहले भने। अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।

अग्रज नेताहरूले आफ्नो समयमा जेलजीवन, यातना, निर्वासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको पनि सिंहले बताए । उनले कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा दिए । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाइ छ ।

उनले पार्टी संगठनलाई सुदृढ बनाउनका लागि लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘तत्कालिन समयमा कांग्रेसले के गर्न सक्छ ? भन्थे । ०१७ सालमा गुमेको अधिकार लौहपुरूष गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनपछि पुनःस्थापित भयो । जती जति बेला राष्ट्र संकटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेको छ ।’

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको दाबी गरे । देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएको स्मरण गरे।

प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए । उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र स्थापनाका लागि योगदान गर्ने बलिदान हुनेहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूले देखेको सपना पूरा गर्न सबै लाग्नुपर्ने बताए ।

Skip This