निजी क्षेत्रका डेरी उद्योगले किसानको वक्यौता तत्कालै भुक्तानी गर्नुपर्छ : प्रधानमन्त्री ओली

105
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई भुक्तानी गर्न बाँकी रहेको दुध वापतको रकम तत्कालै उपलब्ध गराउन निजी क्षेत्रलाई निर्देशन दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले दुग्ध किसानको भुक्तानी सम्बन्धमा दुग्ध विकास संस्थान(डीडीसी) ले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको जानकारी दिए ।

निजी क्षेत्रका डेरी उद्योगले अहिले पनि ठूलो परिमाणमा भुक्तानी गर्न बाँकी रहेकाले तत्कालै किसानको वक्यौंदा रकम उपलब्ध गराउन उनले निर्देशन दिएका हुन् ।

उनले दुग्ध विकास संस्थानलाई दुध विक्री गर्ने सबै कृषकहरूको भाद्र मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको र बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएको बताए ।

डीडीसी र निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ८ महिनादेखि किसानलाई भुक्तानी गरेका छैनन् ।

डीडीसी र निजी क्षेत्रका डेरी उद्योगहरुले देशभरका किसानलाई अझै २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यसमध्ये सबैभन्दा बढी निजी क्षेत्रको छ । निजी क्षेत्रको मात्रै १ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ भने डीडीसीले करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

क्लिकमाण्डुले २९ माघमा ‘दुग्ध किसानलाई अझै साढे २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी, डीडीसीको भन्दा निजी उद्योगको धेरै’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

उनले भने, ‘दुग्ध किसानको भुक्तानी सम्बन्धमा दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको छ । दुग्ध विकास संस्थानलाई दुध विक्री गर्ने सबै किसानहरूको भाद्र मसान्तसम्मको बाँकी रकम भुक्तानी भइसकेको छ भने बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएको छ। केही निजी डेरीहरूले कृषकहरूलाई भुक्तानी गर्न बाँकी रहेको दूध विक्री रकम यथाशिघ्र भुक्तानी गर्न निर्देशन दिइएको छ ।’

उनले थप्दै भने,’जनतालाई महङ्गीको मारबाट मुक्त गर्न नियमित रुपमा र चाडबाडको समयमा सघन रुपमा बजार अनुगमन गर्ने गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ् लिमिटेड जस्ता सार्वजनिक संस्थानबाट चाडबाड लक्षित सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा सञ्चालन गर्ने गरिएको छ। कानून विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्न सरकार प्रतिवद्ध छ ।’

उनले जनतालाई महङ्गीको मारबाट मुक्त गर्न नियमित रुपमा र चाडबाडको समयमा सघन रुपमा बजार अनुगमन गर्ने गरिएको र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ् लिमिटेड जस्ता सार्वजनिक संस्थानबाट चाडबाड लक्षित सुपथ मूल्य पसल देशका विभिन्न स्थानमा सञ्चालन गरिएको बताए ।

प्रधानमन्त्री ओलीले कानून विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।