एलिनाको विष्णुसँग औपचारिकरुपमै डिभोर्स, भनिन्-शारीरिक मिलनमात्रै विवाह होइन रहेछ!

3.5k
Shares

काठमाडौं । गायिका एलिना चौहान र पति विष्णु सापकोटाको सम्बन्ध विच्छेद भएको छ । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्ध विच्छेद भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

आजबाट आफू स्वतन्त्र भएर आफ्नो गन्तव्य तय गर्ने बाटो खुलेको उनले उल्लेख गरेकी छन् । उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् ।

चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि माघ १८ गते मुद्दा दर्ता गरेकी थिइन् । उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्-

प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।

आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु।