महाकुम्भमा गएर फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटनामा ५ जनाको मृत्यु


काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराज महाकुम्भ मेलाबाट फर्किँदै गरेको स्कर्पियो गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ ।

बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो दुर्घटनामा पर्दा घाइते भएका ४ जनाको अवस्था गम्भीर छ ।

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए ।

मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् ।

घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको लाइभहिन्दुस्थान डटकमले जनाएको छ ।

सडकमा बाइक स्टन्ट गरिरहेका युवकहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

स्कोर्पियो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको बताइएको छ । गाडीमा रहेका सबै महाकुम्भमा स्नान गरेर घर फर्किंदै थिए ।