चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाए : मेयर महर्जन

154
Shares

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको दाबी गरेका छन् ।

शुक्रबार ललितपुर महानगरको वडा नं १३ र १४ को सिमानाबाट वडा नं २५ लाई जोड्ने नख्खुखोला पुलको उद्घाटन गर्दै महानगरप्रमुख महर्जनले वडा नं १३ मा पर्ने कुसुन्तीमा १८ जना र वडा नं ३ मा पर्ने धोबीघाटमा ३२ जनाले ज्यान गुमाएको बताए । उनले यो समस्या समाधानका लागि अपाङ्गतामैत्री पुल निर्माणका लागि महानगरपालिकाले अग्रसरता लिएको जानकारी दिए ।

‘हामीले सुरुमै चक्रपथको डिजाइन गलत छ भनेका थियौँ, ललितपुर खण्डमा पर्ने सात दशमलव नौ किलोमिटर सडकमा बत्ती नहुँदा रातको समयमा धेरैले ज्यान गुमाएका छन्, चक्रपथको धोवीघाटमा मात्रै ३२ जनाले ज्यान गुमाउनुपरेको छ, सरकारले सुधार गर्न अनुमति नदिएका कारण समस्या भएको छ, तर हामी प्रयासरत छौँ’, उनले भने ।

उनले नख्खुमा बनेको पुल उद्घाटन गर्दै सम्पदा र संस्कृतिको सहरका नागरिकलाई सहज दैनिकीका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले कुसुन्तीमा नेपालमै पहिलो पटक लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण हुन लागेको जानकारी दिए ।

महानगरका इञ्जिनियर प्रदीप पौडेलका अनुसार शुक्रबारदेखि सञ्चालनमा आएको पुल ३ करोड ३ लाख ६१ हजार रुपैयाँको लगानीमा निर्माण भएको छ ।

तामाङ मरिन कन्सट्रक्सन प्रालिसँग महानगरले पुल निर्माण गर्न २०७९ भदौ १३ गते सम्झौता गरेको थियो । यो पुलको निर्माण गत मङ्सिर २० गते सम्पन्न भएको थियो ।