सम्पत्ती शुद्धीकरणको विषयमा ‘हाइ अलर्ट’ मा बस्न बैंकहरुलाई गभर्नरको निर्देशन


काठमाडौं । सम्पत्ती शुद्धीकरणको विषयमा ‘हाइ अलर्ट’ मा बस्न बैंकहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलपमा वित्तीय लगानी निवारणलाइ विश्वव्यापी रुपमा निगरानी राख्ने अन्तराष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ग्रे लिस्टमा पर्ने जोखिम बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई अलर्टमा बस्न निर्देशन दिएको हो।

सोमबार राष्ट्र बैंकको सम्पत्ती शुद्धीकरण निवारण महाशाखाले बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालककको नेतृत्वमा रहने सम्पत्ती शुद्धीकरण सम्बन्धी उपसमिति तथा अनुपालनमा विभागका प्रमुख समेतलाई बोलाएर छलफल गरेको थियो ।

गभर्नर अधिकारी र व्यवस्थापनको अन्य उच्च अधिकारी सहितको छलफलमा गभर्नर अधिकारीले सम्पत्ती शुद्धीकरणको विषयमा उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिएको एक बैंकरले बताए । सोमबार बिहान सम्पत्ती शुद्धीकरण निवारण विभागले गरेको छलफलमा केही दिन अगाडि फिलिफिन्सको मनिलामा भएको नेपालको प्रिजेन्टेसन र यसपछिको छलफल समेतको आधारमा नेपाल ग्रे लिस्टमा पर्ने अवस्था देखिएको सन्देश गनर्भर अधिकारीले दिएका थिए ।

नेपाल ग्रे लिस्टमा परेपनि त्यहाँबाट चाँडै बाहिर आउनेगरी काम भइरहेको बताएका थिए । त्यसलगत्तै बैंकरहरुलाई बोलाएर छलफल गर्दै समपत्ती शुद्धीकरण सम्बन्धी राष्ट्र बैंकको निर्देश्न कार्यान्वयनमा उच्च ध्यान पुर्याउन निर्देशन दिएका हुन् । ‘उहाँले ग्रे लिस्टमा पर्ने जोखिम नै छ त भन्नु भएन । तर, बैंकहरुले सम्पत्ती शुद्धीकरणको राष्ट्र बैंकले दिएको निर्देशन पालनामा उच्च प्राथमिकता दिनुपर्यो भन्नुभयो,’ एक बैंकरले भने, ‘गभर्नरले एफएटीएफले तोकेको मापदण्डामा बैंकिङ क्षेत्रमा राम्रो सुधार भएपनि केही कमीकमजोरी देखिएको भन्दै त्यसमा सुधार गर्नुपर्ने कुरा राख्नुभयो ।’

उनका अनुसार बैंकहरुले निक्षेप ग्राहकहरुको हिताधिकारीको तथ्यांकको नराखेको, उच्च पदस्थ राजनीतिक व्यक्तिको विवरण नभएका जस्ता बैंकहरुको समान किसिमको समस्या देखिएको भन्दै त्यसमा सुधारको लागि के प्रयास भएन भनेर बैंकहरुले जवाफ दिनेगरी अगाडि बढ्नुपर्ने बताएका थिए ।

यस्तै बैंकको तल्लो तहका कर्मचारीमा पर्याप्त अवार्नेस नहुँदा बैंक खाता खोल्दा अनुपालनमा कमजोरी देखिएको भन्दै त्यसमा सुधार गर्न गर्न निर्देश्न दिएका थिए । सोमबार नै सम्पत्ती शुद्धीकरण निवारण विभागमा भएको छलफलमा भने गभर्नर अधिकारीले आगामी फेब्रुअरीमा फ्रान्समा हुने बोर्ड बैठकमा नेपालको पक्षमा निर्णय नआउनसक्ने संकेत दिएको बैंकरहरु बताउँछन् । आगामी १७ देखि २१ फ्रेब्रुअरीसम्म फ्रान्सको पेरीसमा एफएटीएफको प्लेनरी बैठक बस्दैछ । सोही बैठकले नेपाल ग्रे लिस्टमा पर्ने वा नपर्ने भन्ने निर्णय गर्नेछ ।