खाद्य प्रविधि र औषधी व्यवस्था विभागको जुँगाको लडाइको चेपुवामा आहारपूरक औषधी


विराटनर । दुई सरकारी निकायको द्वन्द्वका कारण आहारपूरक औषधी (डायटरी सप्लिमेन्ट्री तथा न्युट्रास्युटिकल) औषधी बिक्री गर्ने व्यवसायी मारमा परेका छन् ।

यो औषधीको विषयमा वर्षौदेखि औषधी व्यवस्था विभाग र खाद्य प्रविधि गुण नियन्त्रण विभागबीच आपसी द्वन्द्व भइरहेको हो ।

औषधी व्यवस्था विभागले उक्त औषधीको क्षेत्राधिकार आफू मातहत हुनुपर्ने अडान राख्दै वर्षौदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग द्वन्द्व गर्दैआएको छ ।

सरकारले भने उक्त औषधी सतप्रतिशत खाद्यान्न, तरकारी तथा फलफूलको लिक्वीडबाट तयार हुनाले उत्पादन, आयात तथा बिक्री बितरणको लागि नियमनको अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सुम्पेको छ ।

यो औषधीको नियमनको अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सुम्पिएपछि औषधी व्यवस्था विभागले चिकित्सकलाई उक्त औषधी बिरामीलाई सिफारिश नगर्न र औषधी पसलमा बिक्री नगर्न निर्देशन नै जारी गरेको छ ।

ति दुवै विभागबीच यहि लडाइका कारण मारमा औषधी व्यवसायी परेका छन् । औषधी व्यवस्था विभागमा दर्ता भएका औषधीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मान्यता नदिने र खाद्य विभागमा दर्ता भएका खाद्यपुरक औषधीलाई औषधीलाई औषधी विभागले मान्यता नदिंदा व्यवसायी मारमा परेका हुन् ।

खाद्यमा दर्ता भएका खाद्यपुरक मल्टी भिटामिनहरु औषधी पसलमा राखेर औषधी विभागले बिक्री गर्न दिएको छैन ।

औषधी व्यवस्था विभागको अनुगमन टोलीले जफत गरेर लैजाने गरेको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशवन्धु ढकालले बताए ।

‘राज्यका दुई निकायको जुँगाको लडाइले कोशी प्रदेशका औषधी व्यवसायी मारमा परेका छन्,’ ढकालले भने ।

बजारमा दुई विभागको जुँगाको लडाइको प्रभाव कोशी प्रदेशमा मात्रै नभएर देशभरको बजारमा परेको छ ।

औषधी व्यवस्था विभाग कोशी प्रदेशका प्रमुख निकेश श्रेष्ठले खाद्यमा दर्ता भएका खाद्य आहारपूरक औषधी औषधी पसलमार्फत बिक्री गर्न नपाइने बताए ।

‘त्यस्ता आहारपूरक औषधी औषधी पसलमार्फत बिक्री बितरण गरेको पाइएका जफत गर्छौ,’ क्लिकमान्डुसँग श्रेष्ठले भने,‘औषधी पसलमा औषधी र खाद्य पसलमा खाद्य सामग्री बिक्री हुनु पर्छ । औषधी पसलमा खाद्य सामाग्री विक्री गर्न पाइँदैन ।’

घाउ चाँडो निको पार्न वा शरीरमा तत्कालै शक्ति सञ्चार गर्न प्रयोग गरिने प्रोटिन पाउडर, मल्टी भिटामीन ट्याबलेट, प्रोटिन सप्लिमेन्ट, क्लाल्सियम कार्वोरेटलगायतका विभिन्न प्रकारका आहारपूरक औषधी (डाइटरी सप्लिमेन्ट, न्युट्रिसनल, न्युट्रास्युटिकल तथा प्रोवायोटिक) आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि २०७२ अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता हुने व्यवस्था छ ।

सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य विभागमा दर्ता गर्ने व्यवस्था गरेको हो ।

बिरामीले त्यस्ता आहारपूरक औषधी चिकित्सकको सिफारिशमा प्रयोग गर्दैआएका छन् । ढकालले आहारपूरक औषधी औषधी पसलमार्फत बिक्री गर्दा जफत गरेर लैजाने गरेको गुनासो पोखे ।

‘पसलमा राखेर बिक्रीगर्दा औषधी विभागले जफत गरेर लैजान्छ,’ उनले भने ।

औषधीमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दैन । तर खाद्य पुरक औषधी आयात गर्दा भ्याट र भन्सार महसुल लाग्छ । सबै राजस्व तिरेर आयात गरिएका आहारपूरक औषधी बिक्री गर्दा औषधी व्यवस्था विभागले कारबाही गर्दै आएको ढकालले जानकारी दिए।

खाद्य विभागमा ६ हजारभन्दा वढी आहारपूरक औषधी दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश खाद्यपुरक औषधी औषधी व्यवस्था विभागमा भने दर्ता भएका छैनन् ।

बजारमा म्याद सकिएका आहारपूरक औषधीको खुलेआम बिक्री

बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै आहारपूरक औषधीका नाममा म्याद सकिएका औषधी नयाँ उत्पादन मिति, उपभोग्य मिति र मूल्यसमेत पुर्नलेखन गरी बजारमा खुलेआम बिक्री बितरण भइरहेको पाइएको छ ।

विराटनगर ६ भूमिमार्गमा न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झाको गोदाममा प्रदेश प्रहरी कार्यालय कोशी र जिल्ला प्रहरी कार्यालयको सहयोगमा राजस्व‍ अनुसन्धान विभाग इटहरीले छापा मार्दा यस्तो रहस्य खुलेको हो ।

झाले म्याद सकिएको आहारपूरक औषधीको पुन प्याकेजिङ गरी नयाँ उपभोग्य मिति उल्लेख गरेर बजारमा उक्त औषधी बिक्री बितरण गर्दैआएको अनुगमनकारी निकायले फेला पारेको छ ।

अनुगमनकारी निकायले ठूलो परिमाणमा म्याद नाघेर पुनप्याकेजिङ गरिएको आहारपूरक औषधी बरामदसमेत गरेको छ ।

गत आइतबार छापा मार्दा झाको गोदामबाट म्याद सकिएका विभिन्न १४ प्रकारका आहारपूरक औषधी र विभिन्न कम्पनीका मल्टिभिटामिनको नयाँ प्याकेजिङ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

छापा मार्ने क्रममा आहारपूरक औषधीको प्याकेजिङमा छाप लगाउने ४० वटा स्ट्याम्प बरामद भएको छ । यस्तै उक्त औषधीको बिलबिजक पनि भेटिएको छैन ।

राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुइटेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा म्याद सकिएका आहारपूरक औषधीमा नयाँ म्याद टाँसिएको र म्याद टाँस्न प्रयोग गरिने ४० स्ट्याम्पसहित नक्कली कागजात बरामद भएको छ ।

‘अनुगमनको क्रममा कैफियत भेटिएपछि आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएपनि विभिन्न बहाना गरेर झा उपस्थित भएका छैनन्,’ लुइटेलले भने ।

झाले वर्षौदेखि विभिन्न मुलुकबाट आहारपूरक औषधी आयात गर्दै आएका छन् । उनको साक्षी मेडिलिंकमार्फत भारतबाट आहारपूरक औषधी सस्तोमा ल्याएर नेपालमा उच्च मूल्यमा बिक्री गर्दै आएको पाइएको छ ।

उनले भन्सार छलेर पनि ठूलो परिमाणमा यस्ता औषधी भित्र्याउने गरेको अनुगमनको क्रममा फेला परेको छ । भन्सार छलेर औषधी ल्याउने भरिया पक्राउ परेपछि झाको गोदामबाट ठूलो परिमाणमा म्याद सकिएको औषधी बरामद भएको हो ।

चिकित्सकसँग मिलेमतो गरी बिरामीलाई उक्त औषधी प्रयोगका लागि सिफारिश गर्दै आएको पनि अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ ।