नेपालमा न्युट्रास्युटिकल्स उत्पादन प्रतिबन्ध, विदेशबाट अर्बौंको आयात
व्यापारीले १० अर्बभन्दा बढीको न्युट्रास्युटिकल्स विदेशबाट आयात गर्न पाउने, औषधीको रुपमा पुर्जा पनि उपलब्ध हुने, पसलमा बिक्री-वितरण पनि हुने तर स्वदेशी उद्योगले भने उत्पादन गर्न नमिल्ने, कस्तो व्यवस्था बनायौं त हामीले ?
न्युट्रास्युटिकल्स भन्नेबित्तिकै कार्यात्मक खाना भनेर बुझ्नुपर्छ । अर्को अर्थमा यसलाई खाद्यपुरक, आहारपुरक वस्तुहरु, पेयपदार्थ तथा अन्य धेरै यस्ता वस्तु भनेर बुझ्नुपर्छ । कोभिड महामारीको मध्य सन् २०२० सम्म न्युट्रास्युट्रिकल प्रडक्टको विश्वबजार यूएस डलर २७८.८ अर्बसम्म पुगेको थियो, जुन २०२६ सम्म ४४१.७ अर्बसम्म पुग्ने सम्भावना छ ।
चिकित्सकीय लाभहरु प्राप्त गर्न सकिने औषधीको रुपमा विभिन्न न्युट्रास्युटिकल्स उत्पादनहरु रहेकाले यसलाई सबैले स्वीकार गरेको जस्तो पनि देखिन्छ । चिकित्सक महोदयहरुको पुर्जामा पनि विभिन्न भिटामिन मिनरलको मिश्रण रहेको यस्ता औषधीहरुले गणनायोग्य नै स्थान हासिल गरिसकेको देखिन्छ ।
डायटरी न्युट्रास्युटिकल्स औषधीहरुमा एन्टी अक्सिडेन्ट, प्रोबायोटिक, प्रोटिन तथा पोलिसेचुरेटेड फ्याट्टी एसिडहरु मिश्रित हुने भएकोले र बिरामीले पनि सजिलै ग्रहण गर्न सक्ने भएकोले मोटोपन, मुटुसम्बन्धी रोगहरुमा, क्यान्सर, कोलस्टेरोल, बाथ रोग, मधुमेह कपाल झर्ने रोग, छाला सम्बन्धी रोगहरुमा समेत यस्को उपादेयता र प्रयोग पाइन्छ ।
त्यसैगरी नुट्रास्युटिकल्स आहारपुरक भिटामिन मिनरलबाहेक पनि एन्टी रिन्कल- हाइड्रेटिङ सिरम, इन्टेन्सिभ एन्टी एजिङ सिरम, मिनोक्सिडिल एवं फिनेस्टिराइड मिलेको कपाल झार्न रोक्ने सेम्पु एवं झोल, छालासम्बन्धी कयौँ क्रिम ओइन्टमेन्टहरु नेपालको बजारमा पनि उपलब्ध छन् र प्रयोगकर्ताहरुले निर्धक्क प्रयोग गरिरहेका छन् ।
यी र यिनै कयौँ औषधी सम्पूर्ण जसो भारतलगायत विभिन्न मुलुकबाट नेपालमा आयात भइरहेका छन्, जसको मूल्यलाई तुलनात्मक रुपले अध्ययन गरेर हेर्दा साधारण नेपाली जनमानसको पहुँचभन्दा माथिका र धेरै महँगा पनि छन् ।
प्रश्न के हुन आउँछ भने यी वस्तु नेपालमा उत्पादन हुनसक्छ कि सक्दैन ? सक्छ भने किन भइरहेको छैन ? नेपालमा विश्वस्तरीय प्रविधि आइसकेको छ भने के यस्ता आवश्यक औषधी, क्रिम आइन्डमेन्ट उत्पादन गर्न नेपाली उद्योग सक्षम छैनन् ? यो प्रश्नको उत्तर जटिल छ ।
नेपालमा औषधी र यस्ता औषधीजस्तै समिश्रणहरु दुईवटा ढोकाबाट आयात हुने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधी व्यवस्था विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुणस्तर विभागको दुईवटा अलग–अलग नियामक निकायमार्फत नेपालमा औषधी तथा न्युट्रास्युटिकल्स आयात हुने गर्छ ।
न्युट्रास्युटिकल्स एवं कोस्मोस्युटिकल्स प्रडक्टहरु पनि भिटामिनलगायत अन्य औषधीय समिश्रणहरुबाट उत्पादन हुने भएकाले यिनीहरुको उत्पादन प्रक्रिया डब्लूएचओको गुड म्यानुफ्याक्चरिङ प्राक्टिसमार्फत नै हुनुपर्ने र नियामक निकायहरुको निरीक्षण बेलाबेलामा हुनुपर्नेमा यहाँ त्यस्तो नभएर केही कागजातहरुको माध्यमहरुबाट सहजै खाद्य विभागबाट आयात अनुमति पाइन्छ ।
नेपाल सरकारले यस्तो नीति निर्माण गरिदिएको छ, जसअनुसार यस्ता आवश्यक वस्तुहरुको उत्पादन गर्न मिल्दैन अनि आयातचाहिँ निर्धक्क गर्न सकिन्छ । यो सरकारको आफ्नै देशभित्र सञ्चालित उद्योगहरुप्रति सकारात्मक सोच कतै पनि होइन । खाद्य परिपुरक, आहारपुरक डायटरी सप्लिमेन्ट एवं उल्लिखित सम्पूर्णजसो औषधीहरु नेपालमा सहजै उत्पादन हुन सक्छन् तर स्वदेशी उद्योगहरुले यस्ता औषधी उत्पादन लाइसेन्स प्राप्त गर्न सक्दैनन् ।
बिडम्बनापूर्ण के छ भने हाम्रै नेपाल सरकार न्युट्रास्युटिकल प्रडक्टहरु विदेशबाट सजिलै आयात गर्न अनुमति दिन्छ भने त्यसकै स्वदेशी उत्पादनलाई मान्यता दिन खोज्दैन । नेपालभित्र भिटामिन, मिनरललगायत धेरैजसो क्रिम आइन्टमेन्ट मलमहरु उत्पादन भइरहेका छन् तर एउटै औषधीमा धेरै प्रकारका भिटामिन मिनरल प्रोटिन फेट्टी एसिड मिस्रित चक्की क्याप्सुलहरुले सरकारको स्वास्थ मन्त्रालयअन्तर्गत औषधी व्यवस्था विभागबाट उत्पादन अनुमति नपाउने व्यवस्था छ ।
तर, तिनै मिश्रणहरु कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति लिएर, भारतलगायतका देशबाट सहजै आयात गर्न पाइन्छ ।
मनन गर्नुपर्ने कुरो के पनि छ भने देशभित्र ठूलो लगानी गरेर खुलेका झन्डै १ सयको हाराहारीमा पुग्न लागेका विश्व स्वास्थ संगठनको निर्देशनअनुसारको मापदण्ड पूरा गरेका स्वदेशी उद्योगले उत्पादन गर्न नपाउने तर विदेशीले यही भूमिलाई आफ्नो आधार बनाएर बजारीकरण सहजै गर्न पाउने ? के यो आश्चर्यलाग्दो पद्धति होइन ?
नेपालमा खाद्यले न्युट्रास्युटिकल्स आयात गर्न अनुमति दिन्छ तर उत्पादन गर्ने अनुमति दिँदैन । आयात गर्न दिने भएपछि उत्पादन गर्न अनुमति किन नदिएको हो यसबारे प्रस्ट पार्न जरुरी छ ।
हामी कस्तो नियम कानुन बनाउँछौँ, जसले कसैलाई काखा अनि कसैलाई पाखा लगाउँछ । औषधी व्यवस्था विभागले भिटामिन एवं अन्य मिनरल इत्यादिको समिश्रण एउटै क्याप्सुल अथवा टेब्लेटमा एउटा निश्चित मात्राभित्र हुनुपर्छ भन्ने परिपत्र जारी गरेको छ, त्यसभन्दा बढी भएमा स्वीकृति नपाइने व्यवस्था गरेको छ । उता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट त्यसैको विपरीत आयात प्रमाणपत्र दिने व्यवस्था छ ।
१० अर्बभन्दा बढीको यस न्युट्रास्युटिकल्स बजारमा आयातकर्ताले विदेशबाट आयात गर्न पाउने, औषधीको रुपमा पुर्जा पनि उपलब्ध हुने, पसलमा बिक्री–बितरण पनि हुने तर स्वदेशी उद्योगहरुले भने उत्पादन गर्न नमिल्ने, कस्तो व्यवस्था बनायौँ त हामीले ?
औषधि व्यवस्था विभागले फर्माकोपिया नभएको भन्दै नेपालमा उत्पादन गर्न अनुमति दिएको छैन । विभागले केही फर्माकोपिया बस्तुको जसरी उत्पादन अनुमति दिएको त्यसै गरि न्युट्रास्युटिकल्सको पनि उत्पादन अनुमति दिनु पर्छ ।
२०७४ सालमा गगन थापा स्वास्थमन्त्री भएका बेला प्रविधिजन्य स्वास्थ्य सामग्रीसम्बन्धी स्वास्थ्य निर्देशिका पनि जारी भएको र त्यसमा न्युट्रास्युटिकल्स औषधी व्यवस्था विभागले हेर्ने भनेर प्रस्ट लेखिएको पनि रहेछ । तर, कार्यान्वयन पक्षमा यो नभएको देखिएको छ ।
यसरी हुन्छ त औद्योगीकरण, रोजगार वृद्धि, आयात व्यवस्थापन ? हामी सबैले एकपटक सोच्नुपर्छ । नियम कानुनको हवाला देखाएर यस्ता साधारण तरिकाले उत्पादन हुनसक्ने समिश्रणहरुलाई नेपालभित्र अर्बौंको लगानीमा सञ्चालित उद्योगलाई उत्पादन अनुमति नदिनु कति न्याय संगत छ ?
न्युट्रास्युटिकल्स एवं कोस्मोस्युटिकल्सको विश्व तथा नेपाल बजार हिजोभन्दा आज झनै बढेर गएको छ । सोसल मिडिया र सहज आपूर्तिको अवधारणाले यसको नेपालमा पनि सर्वसाधारणसम्मको पहुँच सहज भएको देखिन्छ । स्वदेशमै यीलगायतका न्युट्रास्युटिकल्स एवं कोस्मोस्युटिकल्स प्रडक्टहरुको उत्पादन हुने वातावरण बनेको खण्डमा बैँकलगायतलाई पनि लगानी गर्न एउटा ठूलो सम्भावना बढ्न सक्ने थियो ।
क्याम्पेन अवधारणाअन्तर्गत हाम्रा औषधी उद्योगहरुले सजिलै यी न्युट्रास्युटिकल्स एवं कोस्मोस्युटिकल्स उत्पादन गर्न सम्भव छ, यसो भएको खण्डमा हाम्रो नियामक निकाय औषधी व्यवस्था विभागलाई निरीक्षण, परामर्श, अनुमति, गुणस्तर र प्रमाणीकरण सहज हुने थियो । विदेशी मुद्रा बाहिर जानबाट केहि हदसम्म रोकिने पनि थियो ।
(1) Calcium carbonate 125mg, Magnesium Hydroxide eq. Elemental Magnesium 90 mg, Zinc Sulphate Monohydrate 4mg, Vitamin D3 200 IU 30 tab – Rs.900/-
(2) Vitamin A, Vitamin C, Vitamin D, Vitamin E, Vitamin B-6, Folic Acid, Vitamin B-12, Biotin, Pantothenic Acid, Iodine, Zinc, Choline, Inositol, as the active vitamins and minerals, for 60 – Rs. 3800/-
(3) Fish Oil Soft gel 200 caps – Rs. 4300/-
(4) Bulking Agents (Microcrystalline Cellulose, Calcium Phosphates), Zinc Gluconate, Anti-Caking Agents (Magnesium salts of fatty acids). Essential Zinc 100 Tablets ‘Bottle – Rs. 1550/-
(5) Glucosamine, Chondroitin & MSM 120 Tablets- Rs. 4000/-
(6) Minoxidil, Procapil, Planoxia, Anagain, Aqua SF 01, Propylene Glycol, Glycerin, IPA, EDTA, Tween-20, Triethanolamine, Water and Fragrance, 60ml – Rs. 1550/-
(7) Calcium Citrate & Vitamin D, 250 tabs – Rs. 5000/-
उल्लिखित न्युट्रास्युटिकल्स एवं कोस्मोस्युटिकल्सका केही उदाहरण हुन्, यिनीहरुमा भएको समिश्रणहरुको कच्चा पदार्थ, एक्सिपियन्टहरुको गुणस्तर भ्यालिडेसन अति आवश्यक हुन्छ तर खाद्य विभागले यस्तो गरेको पाइँदैन । विदेशी कम्पनीले दर्ता गरेको कागजातका आधारमा आयात अनुमति दिइन्छ ।
नेपालभित्र औषधीको गुणस्तर एवं टेस्टिङको निमित्त एउटा मात्र सरकारी ल्याब छ, नेसनल मेडिसिन्स ल्याबोरेटोरी, जहाँ यस्ता आयातित न्युट्रास्युटिकल्स एवं कोस्मोस्युटिकल्सको एउटा पनि सेम्पल टेस्टिङ गराएको तथ्य छैन । यस्तो परिप्रेक्ष्यमा चिकित्सकको पुर्जामार्फत बिरामीले प्रयोग गरिरहेको न्युट्रास्युटिकल्स, कोस्मोस्युटिकल्सको गुणस्तर कसरी प्रमाणित भयो त ?
प्रत्येक औषधीको विभिन्न तरिकाबाट उद्योगको आफ्नै तथा बाहिरी ल्याबमा परीक्षण गर्नुपर्ने प्रावधान भएको मुलुकमा बिनानिरीक्षण, कागजाताको भरमा मात्रै १०औँ अर्बको न्युट्रा र कोस्मो आयात हुनु बिडम्बनापूर्ण हो कि होइन ?
आजको आर्थिक मन्दीको परिप्रेक्ष्यमा ठूलो परिमाणमा विदेशबाट आयात भइरहेको न्युट्रा तथा कोस्मो बजारलाई कसरी स्वदेशी उद्योगमैत्री बनाउने यसतर्फ सबै सरोकारवालाले चिन्तन मनन गर्न आवश्यक देखिन्छ ।
(लेखक ओझा आइडियल फर्मास्युटिकल्स कम्पनी प्रालिका कार्यकारी निर्देशक हुन् ।)