काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र विकासका लागि १३ वटा विषयगत क्षेत्र पहिचान गर्दै १६ औं विकास योजनाको कार्यान्वयन योजना तयार पारेको छ ।
योजना आयोगले १६ औं योजना कार्यान्वयनको लागि विषयगत र क्षेत्रगत नीतिहरू र कार्यक्रमहरूबीचको सम्भावित सम्बन्धलाई विश्लेषण गर्दै समन्वयात्मक अतिरिक्त लाभ र विरोधाभाषहरु पहिचान गरेको बताएको छ ।
१६ औं योजना कार्यान्वयन कार्ययोजना आर्थिक वृद्धिमा मात्र केन्द्रित नभई दिगो विकासका साथै सामाजिक न्याय, समावेशीता, र समान विकासका सिद्धान्तहरूलाई कार्यान्वयन गर्ने दिशामा केन्द्रित रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष शिवराज अधिकारीले बताए ।
१६औं योजना कार्यान्वयनमा दिगो विकास लक्ष्य स्थानीयकरण र अतिकम विकसित देशवाट स्तरोन्नति हुने लक्ष्यलाई प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
१६औं विकास योजना, दिगो विकास लक्ष्य र विकासशिल राष्ट्रमा स्तरोउन्नती अलग–अलग रूपमा मात्र कार्यान्वयन हुने योजना आयोगले उल्लेख गरेको छ । तिनवटै लक्ष्य परस्पर अन्तर्क्रियात्मक र एकअर्कालाई सहयोग गर्ने गरी विकसित गरिएको र कार्यान्वयनमा लागिएको योजना आयोगले जनाएको छ । १६ औं योजनाको कार्यान्वयन योजना समेत सोही अधारमा तयार पारेको हो ।
‘१६औं योजनाको डिजाइन् र कार्यान्वयनमा श्रोतको कुशल उपयोग र प्राविधिक कुशलता सुनिश्चित गर्न ध्यान केन्द्रित गरिएको छ,’ राष्ट्रिय योजना आयोगले बिहिबार पत्रकार सम्मलेन गर्दै भन्यो, ‘योजनाले संघीय, प्रादेशिक, र स्थानीय सरकारबीचको समन्वयलाई बलियो बनाउँदै योजनाको सफल कार्यान्वयनमा योगदान दिने उद्देश्य राखेको छ।’
योजना आयोगले दिगो बिकास लक्ष्यको ‘कसैलाई पनि पछि नछोड्ने’ भन्ने सिद्धान्तको आधारमा योजना तथा कार्यक्रमहरु तयार गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले बताए । योजना कार्यान्वयनमा विशेषगरी सामाजिक न्याय, समावेशी विकास, र दीगो आर्थिक वृद्धिलाई प्राथमिकता दिइएको उनले बताए ।
‘योजना कार्यान्वयनमा संघीय, प्रादेशिक, र स्थानीय सरकारबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाउँदै योजनाको कार्यान्वयनलाई सहज बनाइनेछ । यसले कार्यान्वयन प्रक्रियामा स्वामित्वको भावना सिर्जना गर्नेछ,’ उनले भने, ‘१६औं योजना, दिगो विकास लक्ष्य र विकासशिल राष्ट्रमा स्तरोउन्नती लक्ष्यहरूबीचको अन्तरसम्बन्धलाई स्पष्ट पार्दै, योजनाको समन्वय र कार्यान्वयनलाई व्यवस्थित बनाउने काम भइरहेको छ । योजनाहरूको एकीकरणले दिगो विकासका लक्ष्यहरूलाई साकार पार्न सहयोग गर्नेछ ।’
त्यस्तै सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पुर्याउने गरि कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने योजना आयले जनाएको छ ।
प्रतिक्रिया