टोखाको ‘नेपाली चकलेट’: विचौलियाको मारमा व्यवसायी, सरकारले सहयोग गरेन



काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा टोखाका चाकु व्यवसायीहरू चाकु उत्पादनमा व्यस्त छन् । यो समय चाकुको उच्च माग हुने भएकाले काठमाडौं, भक्तपुर र ललितपुरमा समेत चहलपहल बढेको छ। टोखा चाकु प्रोडक्शनका सञ्चालक हंसराज श्रेष्ठका अनुसार चाकु व्यवसाय टोखाको तेस्रो पुस्ताले धानिरहेको छ।

‘हामीले चाकु व्यवसाय तीन पुस्तादेखि गर्दै आएका छौं । बाजेले सुरु गर्नुभएको यो व्यवसाय बुबाले अगाडि बढाउनुभयो। अहिले म तेस्रो पुस्तामा काम गरिरहेको छु,’श्रेष्ठले भने,’चाकुको व्यापार सिजनल छ, तर सिजनमा माग पूरा गर्न निकै गाह्रो हुन्छ।’

टोखा परम्परागत नेवार बस्ती हो, जहाँ पहिले सामूहिक उखु खेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’ को अर्थ उखु र ‘ख्यः’ को अर्थ फाँट भन्ने बुझिन्छ । यो परम्परा अनुसार टोखामा उखुबाट चाकु बनाइन्थ्यो। तर, गुठी जग्गाको बिक्री र उखु खेती हराउँदै गएपछि चाकुका लागि कच्चा पदार्थ अहिले तराईबाट ल्याउनुपरेको छ।

चाकु: नेपाली चकलेट

चाकुलाई नेपाली चकलेटको रूपमा चिन्ने गरिएको छ । माघे सङ्क्रान्तिमा यसको माग उच्च हुने र सुत्केरी आमा तथा चिसोबाट जोगिन चाकु उपयोगी हुने विश्वास छ । टोखाको चाकु अहिले उपत्यकाका साथै उपत्यकाबाहिर र अमेरिका तथा बेलायतजस्ता देशहरूमा समेत माग बढेको व्यवसायीहरूले बताएका छन् ।

चाकुको मागअनुसार उत्पादन गर्न कठिन रहेको व्यवसायीको भनाइ छ।

टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठले भने, ‘चाकुको मागअनुसार उत्पादन गर्न हामीलाई कठिन छ । सख्खरको मूल्य बढे पनि चाकु पुरानै भाउमा बेच्नुपरेको छ । विचौलियाको कारण उचित मूल्य पाउन नसक्दा व्यवसायीलाई समस्या भएको छ ।’

टोखा चाकु व्यवसायीहरूले सरकारले चाकु विदेश पठाउन अनुमति दिनुपर्ने माग गरेका छन् । व्यवसायी श्रेष्ठका अनुसार, ‘हाम्रो चाकु विदेशमा पठाउन माग धेरै छ, तर सरकारबाट अनुमति नहुँदा विचौलियाको भर पर्नुपरेको छ ।’

श्रेष्ठले सरकारलाई सहुलियतमा कच्चा पदार्थ र आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरेका छन् । ‘सरकारले सिजनमा मात्रै प्रक्रिया अघि बढाउँछ, सिजन सकिएपछि काम अघि बढ्दैन। सरकारले हाम्रो व्यवसायको दीर्घकालीन संरक्षण गर्न ध्यान दिनुपर्छ ।’

टोखामा चाकुको मूल्य प्रतिकिलो १०० रुपैयाँदेखि १४० रुपैयाँसम्म छ। व्यवसायीहरूले भने बजारमा चाकुको मूल्य २०० रुपैयाँभन्दा माथि पुग्ने सम्भावना रहेको बताएका छन् ।

‘चाकुको सिजनल व्यापारमा नाफा गर्न कठिन छ। हामीले घरसम्म चाकु १३५ रुपैयाँमा दिन्छौं, तर बजारमा त्यो चाकु महँगोमा बेचिन्छ। उचित मूल्य निर्धारण र सरकारी सहयोगको खाँचो छ,’ श्रेष्ठले भने।

नेवार संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ। नेवार समुदायमा काजकिरियामा समेत चाकु खाने चलन छ। व्यवसायीहरूले चाकुको परम्परागत महत्वलाई जोगाउन यसको ब्राण्डिङ आवश्यक रहेको बताएका छन् ।

टोखाका व्यवसायीहरूले सरकारले चाकु व्यवसायमा प्रोत्साहन गर्न सहुलियत योजना ल्याउनुपर्ने र तीन तहका सरकारहरूले समन्वय गरी व्यवसायलाई संरक्षण गर्नुपर्ने माग गरेका छन् ।


क्लिकमान्डु