सिमेन्टको मूल्य वृद्धि गर्ने उद्योगीलाई कारवाही गर्न मञ्चको माग
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले अस्वाभाविक रुपमा मूल्य बृद्धि गरेका सिमेन्ट उद्योगीलाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्रीसँग माग गरेको छ ।
मञ्चले बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै सिमेन्ट उद्योगले सिण्डिकेट र कार्टेलिङ्ग गरी सिमेन्टको मूल्य अत्याधिक बृद्धि गरेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
मञ्चले सरकारी स्वामित्वको उद्योग हेटौडा र उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादन नियमित रुपमा गर्न नसकेको अवस्थाको फायदा उठाउँदै निजी क्षेत्रका सिमेन्टले आफुखुशी मूल्य बृद्धि गरेको भन्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
सिमेन्ट उद्योगहरुले ओपिसी सिमेन्टको मूल्य ५ सय प्रतिबोराबाट एकैपटक ९ सय रुपैयाँ बृद्धि गरेका छन् ।
निर्माण सामग्रीमध्ये बालुवा, रोडा, फलामे डण्डीको मूल्य यथास्थानमा रहेको औल्याउँदै मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ज्ञापन पत्रमा उल्लेख गरेका छन, ‘सिमेन्ट उद्योगले सिण्डिकेट र कार्टेलिङ्ग गरी अफ सिजनमा घाटामा सिमेन्ट बिक्री गर्नु परेको तथा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाइन प्रयोग गरेवापतको महसुल उठाउन लागेको कारण अस्वाभाविक रुपमा कृत्रिम मूल्य बढाउने काम भएको हुँदा तत्काल यस्ता गैरकानूनी काम गर्ने सिमेन्ट उद्योगलाई कारवाहीको दायरामा ल्याउन अनुरोध छ।’