ऋणीलाई तालिमसहित पारदर्शी सूचना दिएर मात्रै ऋण प्रवाह गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई ‘संचालन मार्गदर्शन २०८१’ जारी गरेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएको समस्यालाई दृष्टिगत गरेर लघुवित्तलाई थप व्यवस्थित एवं सुदृढ गर्न लघुवित्त मार्गदर्शन जारी गरेको हो ।

राष्ट्र बैंकले विभिन्न अध्ययन समितिले दिएको सुझावलाई समेटेर लघुवित्तलाई सामाजिक बैंकिङको अवधारणासमेतका आधारमा सञ्चालन गर्न यो मार्गदर्शन जारी गरेको उल्लेख छ ।

राष्ट्र बैंकले लघुवित्तमा दिने कर्जा सम्बन्धी मार्गदर्शन अन्तर्गत कर्जा नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, ऋणीको आम्दानी र व्यवासयको नगद प्रवाहको आधारमा कर्जा भुक्तानी तालिका सम्बन्धी ग्राहकबाट भराउनुपर्ने, ऋणीलाई शिष्टतापूर्ण व्यवहार गर्र्नुपर्ने, तीन पटक ऋणी तोकिएको ठाउँमा नआएमात्रै घरमा जाने पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी मार्गदर्शन अन्तर्गत लेखापरीक्षण कार्य नियमित हुनुपर्ने, कर्मचारी प्रशासन सम्बन्धी मार्गदर्शनमा न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने, तालिम, पदोन्नती र कारवाहीको प्रभावकारी प्रणाली हुनुपर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने भएको छ । नयाँ कर्मचराीलाई अनिवार्य लघुवित्तको तालिम दिएर मात्रै काममा खटाउनुपर्ने व्यवस्थासमेत भएको छ ।

ग्राहक संरक्षण सम्बन्धि मार्गदर्शनमा सम्मानजनक व्यवहार गर्नुपर्ने, कुनै पनि आधारमा विभेद गर्न नहुने, ऋणीको हित संरक्षण गर्नुुपर्ने, कर्जा प्रवाह गर्दा ऋणीसँग खाली कागजमा हस्ताक्षर गर्न नहुने, स्वीकृत कर्जा रकमबाट सेवाशुल्क लिन र कट्टा गर्न नहुने व्यवस्था गर्न निर्देशन दिएको छ ।

वित्तीय साक्षरता र पारदर्शीता अन्तर्गत ग्राहकलाई नियमित रुपमा सूचना र जानकारी सरल भाषामा दिनुपर्ने, व्यवसायसम्बन्धि तालिम पश्चात मात्रै कर्जा प्रवाह गर्नुपर्ने, ऋणीलाई कर्जा साँवा रकम, सेवा शुल्क, ब्याज, कर्जा स्वीकृत मिति, किस्ता, कर्जाको भुक्तान तरिका, विलम्ब र ब्याज, बीमा एवं गुनासो सम्बोधनसहितको जानकारी गरेर मात्रै कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।


क्लिकमान्डु