१० बैंकको ‘पोर्टफोलियो रिभ्यु’ गर्ने आशयपत्र जनवरि १३ सम्म पेश गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० बैंकको इन्टरनेसनल अडिट गर्ने आशयपत्र बुझाउने समय थप गरेको छ । पहिलो प्रयास असफल भएपछि थालिएको दोस्रो प्रक्रियामा केन्द्रीय बैंकले इच्छुक विदेशी अडिटरबाट जनवरि १३ तारिखसम्म आशयपत्र (एक्सप्रेसन अफ इन्टरेस्ट) पेश गर्न भनेको हो ।
यसअघि उनीहरूलाई ईओआई पेश गर्न हिजोसम्मको समय दिएको थियो ।
विस्तारित कर्जा सुविधा लिने क्रममा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको प्रतिबद्धता अनुसार केन्द्रीय बैंकले विदेशी अडिटरबाट देशका १० ठूला बैंकको अडिट गराउने भएको हो ।
देशका वाणिज्य बैंकको अडिटलाई राष्ट्र बैंकले एक्स्टेन्सिभ एसेट क्वालिटी रिभ्यु भनेको छ । यसअघि सोही कार्यलाई लोन पोर्टफोलियो रिभ्यू भनिएको थियो ।
नेपाल राष्ट्र बैंकले यसअघि १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्य भदौ मसान्तमा रद्द गरेको थियो । राष्ट्र बैंकले गत चैतमा लोन पोर्टफोलियो रिभ्यूका लागि योग्य अन्तरराष्ट्रिय फर्मबाट आशयपत्र माग गरेको थियो ।
आशयपत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि योग्य देखिएकामा उसको आर्थिक प्रस्ताव अस्विकृत भएको थियो ।