लेखा समिति सभापतिका पूर्वस्वकीय अनिलविरुद्ध पक्राउ पुर्जी जारी



विराटनगर । सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मोरङ अदालतले सोमबार ठगी गरी आपराधिक लाभ लिएको आरोपमा पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

एमाले मोरङ जिल्ला सदस्य समेत रहेका अनिल पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

ठगीको यो मुद्दामा अनुसन्धान गर्न प्रहरीले अदालतसँग पक्राउ पुर्जीको अनुमति मागेको थियो।

अदालतले अनुमति दिएसँगै मोरङ प्रहरीले पोखरेलको खोजी कार्यमा जुट्ने र अनुसन्धानलाई अघि बढाउने बताए ।

पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले यसअघि परमादेश जारी गरेको थियो ।

पोखरेलले राजनीतिक प्रभावको आडमा प्रहरीलाई ठगीको जाहेरी दर्ता गर्नबाट रोकेको आरोपमा परेको मुद्दामा अदालतले उनीमाथि अनुसन्धानको लागि आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो ।

अनिल पोखरेल २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार सिफारिस भएका थिए । तर उनले अन्तिममा टिकट पाउन सकेनन् ।

उनले आफूले उच्च शिक्षा र एमबीबीएस पढाइको व्यवस्था गर्न सक्ने भनेर अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ । चौधरीको छोरीलाई डाक्टर बनाउने आश्वासन दिँदै पोखरेलले उक्त रकम लिएका थिए।

तर, छोरीको नाम एमबीबीएसको सूचीमा नआएपछि चौधरीले पैसा फिर्ता मागेका थिए । पैसा फिर्ता माग्दा पोखरेलले उनलाई धम्की दिन थाले । २०७९ साउन ९ मा पोखरेलले ‘हिसाब चुक्ता गरिदिन्छु’ भन्दै चौधरीलाई बोलाएका थिए । चौधरीको आरोपमा पोखरेलले जबर्जस्ती ५० लाखको ऋणको कागजमा हस्ताक्षर गर्न लगाएका थिए ।

जब चौधरीले इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन प्रयास गरे, प्रहरीले अस्वीकार गरे । त्यसपछि चौधरीले उच्च अदालतमा परमादेशको लागि निवेदन दिएका थिए । अदालतले प्रमाण सहितका कागजातको आधारमा पोखरेलविरुद्ध अनुसन्धानको आदेश दिएको हो।

अदालतले प्रहरीको जवाफ अस्वीकार गर्दै, चौधरीको जाहेरीलाई दर्ता गरी कानूनी प्रक्रिया अघि बढाउन आदेश दिएको छ। उच्च अदालतले भनेको छ, ‘निवेदकले दिएको जाहेरी दरखास्त प्राप्त नभएको भन्ने कुनै आधार छैन।’

अनिल पोखरेल बिहीबार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको सभापतिको कार्यकक्षमा पुगेका थिए ।

वर्तमानमा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध जिल्ला अदालत मोरङबाट सहकारी ठगीमा पक्राउ पूर्जी जारी भएको छ, तर उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । अञ्जला कोइराला शिक्षक हुन र पोखरेलले उनको कार्यस्थलमा अनिश्चितकालीन विदा दिने पत्र लेखेर दबाब दिएको आरोप छ ।

सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाएका थिए । शुक्रबार स्वकीय सचिवलाई उनले निकालेका हुन् ।

पोखरेलले संघीय संसद सचिवालयलाई शुक्रबार स्वकीय सचिव निकालेको जानकारी गराएका थिए ।


क्लिकमान्डु