सहकारी पीडित अदालत प्रवेश गर्न खोजे, रास्वपा कार्यकर्ताले पोखरामा गगनसँग प्रमाण माग्दा ‘लफडा’



पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका पीडितहरूले कस्की जिल्ला अदालतमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्धको मुद्दाको थुनछेक बहसमा आफूहरूलाई अदालत प्रवेश नदिएको भन्दै विरोध जनाएका छन् ।

पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले रास्वपाका नेता र कानुन व्यवसायीलाई अदालत प्रवेश दिइए पनि आफूहरूलाई रोकिएको भन्दै विरोधस्वरूप अदालत गेटमा केही समय सुतेका जानकारी दिए ।

पीडितहरूले धर्नामा बसेपछि प्रहरीले उनीहरूलाई कोमागाने पार्क पुर्‍याएको थियो । कांग्रेस महामन्त्री गगन थापाले भेट्न अस्वीकार गरेको भन्दै सहकारी बचतकर्ताहरूले विरोध जनाए । थापाले सहकारी मुद्दामा अदालतमा प्रक्रिया भइरहेका कारण पीडित पक्षसँग भेट्न इन्कार गरेका थिए ।

त्यस्तै, रास्वपाका कार्यकर्ता पनि कांग्रेस पार्टी कार्यालयमा पुगेका थिए ।

पार्टी कार्यक्रमको सिलसिलामा पोखरा पुगेका कांग्रेस महामन्त्री थापासँग उनीहरुले सहकारी ठगीबारे प्रमाण माग गरेका थिए । त्यसक्रममा झडपको स्थिति बनेपछि प्रहरीले दुवै पक्षलाई बाहिर निकालेको थियो ।

थापाले आफूसँग रवि लामिछानेले सहकारी ठगी गरेको प्रमाण छ भनेको भन्दै उनीहरुले उक्त प्रमाण देखाउन चुनौती दिएका हुन् ।

यसै क्रममा, सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीको थुनछेक बहस जारी छ। सो प्रकरणमा रवि लामिछानेसँगै अन्य धेरै व्यक्तिहरूलाई आरोपमा लिइएको छ । रविविरुद्ध तीन करोड ३७ लाख रुपैयाँ र सम्पत्ति शुद्धीकरणका लागि २७ करोड ८९ लाख ८४ हजार रुपैयाँको दाबी गरिएको छ ।

संसदको प्रतिवेदनले गोर्खा मिडिया र विभिन्न सहकारी संस्थाहरूको रकम अपचलनमा संलग्नता देखाएको थियो, जसका कारण रविको संलग्नता र अन्य ६३ जनालाई आरोपित गरी कास्की जिल्ला अदालतमा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।


क्लिकमान्डु