एमसीसीको बजेट बढ्यो, ६ अर्ब ८० करोड अनुदान थप



काठमाडौं । मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल कम्प्याक्टका लागि करिब ६ अर्ब ८० करोड रुपैयाँ थप सहायता प्रदान गर्ने भएको छ ।

समयमा काम सुरु हुन नसकेका कारण लागत बढ्ने अवस्था आएपछि एमसीसीको बोर्ड बैठकले नेपाल कम्प्याक्टको लागि  थप ५० मिलियन अमेरिकी डलर स्वीकृत गरेको हो ।  

जसले कम्प्याक्टको कुल बजेटलाई ७४७ मिलियन अमेरिकी डलर (१ खर्ब २ अर्ब रुपैयाँ) पुर्‍याएको छ ।  

सञ्चालक समितिको यस निर्णयले नेपालका विकास प्राथमिकताहरूलाई रूपान्तरणकारी तथा गुणस्तरीय पूर्वाधार परियोजनाहरूको माध्यमबाट अगाडि बढाउने एमसीसी र नेपाल सरकारबिचको साझा प्रतिबद्धतामाथि जोड दिएको दाबी गरिएको छ ।

‘यस अतिरिक्त आर्थिक सहयोगले नेपालको विद्युत् ग्रिडलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने दिशामा कम्प्याक्टको सफलता सुनिश्चित गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्दछ,’ एमसीसी कम्प्याक्ट अपरेशनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने ।

आर्थिक वृद्धिमार्फत विश्वव्यापी गरिबी निवारण गर्नका निम्ति कार्यरत मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी सरकारको एक स्वतन्त्र विकास निकाय हो ।

सन् २००४ मा स्थापित एमसीसीले सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र लोकतान्त्रिक अधिकारको सम्मानसम्बन्धी कडा मापदण्डहरू पुरा गर्ने देशहरूलाई पूर्वाधार निर्माण वा सुधारका साथै नीतिगत तथा संस्थागत सुधारमा लगानी गर्नका निम्ती समयसीमामा बाँधिएका अनुदानहरू उपलब्ध गराउँछ ।

२०१७ मा हस्ताक्षरपछि संसदबाट अनुमोदन भएको अमेरिकी अनुदान कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच भएको सम्झौताअनुसार अगस्ट २०२३ देखि ५ वर्षको समय राखेर परिआयोजनालाई पुरा गर्नुपर्नेछ । सम्झौताअनुसार परियोजनाको कार्यतालिकामा रहेर हाल टेण्डर भइरहेको छ ।

एमसीसीबाट प्राप्त हुने अनुदानबाट हुने आयोजना अन्तर्गत करिब ३१५ किमि ४ केभी क्षमताको विद्युत प्रसारण लाइन र तीन वटा ४ सय केभी क्षमताका सबस्टेसनसँगै ७७ किमि सडक मर्मतको योजना रहेको छ ।


क्लिकमान्डु