प्रहरीले स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन बुझायो: रविसहित ४४ विरुद्ध १ अर्ब १९ करोड बढी बिगो मागदाबी



काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे प्रहरीले १० महिनाको लामो अनुसन्धानपछि प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।

प्रहरीको प्रतिवेदनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

प्रहरीले सहकारीमा नक्कली ऋण बनाउने, ठगी गर्ने र संगठित अपराधको आरोपमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

प्रतिवेदन अनुसार, सहकारीबाट १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ । यसमध्ये १६ भन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख रुपैयाँभन्दा बढी रकम ट्रान्सफर गरिएको देखिएको छ ।

अडिट रिपोर्टअनुसार, गीतेन्द्रबाबु (जीबी) राईको हर्बो इन्टरनेसनल प्रालि मा १० करोड २७ लाख ९४ हजार ५२२ रुपैयाँ अपचलन भएको छ । त्यस्तै, जीबी ग्रुप अफ कम्पनी प्रालि, कुमकुम हर्बल इन्डस्ट्रिज र देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्बेन्डरी फार्म जस्ता कम्पनीहरूमार्फत ठूलो मात्रामा रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अनुसन्धानका क्रममा कार्तिक महिनामा लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप-समिति सदस्य कमल लामासहित पाँच जनालाई पक्राउ गरिएको थियो । रवि लामिछाने र पूर्व डीआईजी जोशी हाल हिरासतमा छन् भने कोषाध्यक्ष कुमार रम्तेल कारागारमा रहेका छन् । अन्य प्रतिवादीहरूलाई फरार सूचीमा राखी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीले रकम अपचलनसँग सम्बन्धित कागजात, सञ्चालकहरूको विवरण, अडिट रिपोर्ट, र साधारणसभाको निर्णयको अध्ययनपछि यो प्रतिवेदन तयार पारेको हो। अब सरकारी वकिल कार्यालयले प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।


क्लिकमान्डु