गुण समूहको म्यासिफ होटलमा भित्रियो फ्रान्सेली ब्राण्ड रोयल टुलिप, ६ महिनाभित्र पूर्ण सञ्चालनमा आउने
काठमाडौं । गुण समूहले निर्माण गरेको ग्वार्कोस्थित द म्यासिफ होटलको व्यवस्थापन फ्रान्सेली अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपले सम्हाले सम्झौता भएको छ । होटलको व्यवस्थापन सम्हाल्ने विषयमा मंगलबार औपचारिक सम्झौता भएको हाे ।
सम्झौता गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य र टुलिपका तर्फबाट लुभ्र होटलका निर्देशक अजयकुमार बकायबीच भएको हो । यो सम्झौतासँगै शाक्यले म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको घोषणासमेत गरेका छन् ।
गुण समूहले करिब साढे ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको यो होटलमा टुलिपका प्रवेशसँगै आगामी ६ महिनाभित्रै पूर्ण रुपमा सञ्चालनाम आउने भएको छ । गुण ग्रुपको पहिलो पाँचतारे होटल द म्यासिफको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटलले सम्हाल्ने सम्झौताले खुशी लागेको पनि शाक्यले बताए ।
शाक्यले भने ‘फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसँगको व्यवस्थापन सम्झौता नेपालको लागि कोशेढुंगा हुनेछ।’
होटल निर्माणको क्रममा लगानी जुटाउन समस्या भएको स्मरण गर्दै अध्यक्ष शाक्य सम्झौता कार्यक्रममै भावुक हुँदै भने ‘होटल निर्माणको क्रममा सबैभन्दा पहिले प्राइम बैंकले लगानी गरेर साथ दिएको हो । प्राइम बैंकका सीईओ नारायण मानन्धरले अवकास पाउनु अघि मलाई ५० करोड रुपैया ऋण दिन तयार हुनुभएको थियो, ।’
अध्यक्ष शाक्यले भने, ‘त्यो अवस्थामा हाम्रा लागि दिनु भएको वहाँकाे त्यो सहयोग कहिल्यै बिर्सदैनौ।’
अहिले पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सन्चालनमा ल्याउने तयारी गरेको होटलले अबको ३ महिना पछि कोठा पनि सन्चालनमा ल्याउने उनले जानकारी दिए।
कार्यक्रममा वकायाले लुभ्र अन्तर्गत रोयल टुलिप ब्रान्डमा म्यासिफ २३ औ होटल भएको बताए। उनले भने ‘यो होटल नै आतिथ्यता र विशेष गरि कन्फ्रेन्स, वैवाहिक समारोहका लागि उपयुक्त होटल रहनेछ’ निर्देशक वकायाले भने ‘हामी उच्च्स्तरिय सेवा दिनका लागि जनशक्ती तालिममा विशेष केन्द्रित रहनेछौ।’
उक्त सम्झौता कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एकदमै मेहेनती र गल्ती नगरी काम गर्ने परिवार गुण ग्रुपले रोयल टुलिपलाई भित्र्याएर पर्यटन क्षेत्रमा अर्को पाइला थपेको बताए।
ग्रुपका प्रवन्ध निर्देशक दिप्रश शाक्यले यो सम्झौताले मुलुकमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई फरक किसिमको आतिथ्यता प्रदान गर्ने बताए। उनले भने ‘हामीले गन्तव्यमात्र नभै पाहुनाको अनुभुतीलाइ विशेष प्राथमिकतामा राखेका छौं’ टुलिपलाइ ब्राण्डको रुपमा मात्र नभै विश्व व्यापी रुपमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ल्याएका हौ।’
ग्रुपका निर्देशक दिपृना शाक्यले होटलको प्रमुख उद्धेश्य लक्जरी मात्र नभै विशेष अनुभुती प्रदान गर्नु रहेको बताइन।
हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो।
१६ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ३०२ कोठा रहेका छन्। होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ ।