गुण ग्रुपको म्यासिफ होटलको व्यवस्थापन रोयल टुलिपले सम्हाल्ने, जनावरी १ मा सम्झौता हुँदै




काठमाडौं । नेपालको एक व्यवसायिक घराना गुण ग्रुपले निर्माण गरेर सञ्चालनको तयारी गरिरहेको द म्यासिफ होटलको व्यवस्थापन फ्रान्सेली ब्राण्ड रोयल टुलिपले सम्हाल्ने भएको छ । होटलको व्यवस्थापन रोयल टुलिपले सम्हाल्ने विषयमा १ जनावरी २०२५ मा औपचारिक सम्झौता हुने भएको छ ।

व्यवसायी राजेन्द्र शाक्यले गुण ग्रुपअन्तर्गत निर्माण गरेको द म्यासिफ होटलमा रोयल टुलिप भित्र्याउने विषयमा औपचारिक कार्यक्रम आयोजना गरेरै सम्झौता हुने भएको छ । उक्त सम्झौता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा दुइपक्षिय सम्झौता गर्ने भएको छ ।

आगामी जनावरीमा गुुण ग्रुपसँग हुने द म्यासिफ होटल र रोयल टुलिपबीचको सम्झौतापछि होटलको सम्पूर्ण व्यवस्थापन टुलिपले सम्हाल्ने भएको छ । टुलिप विश्वभर लक्जरी होटल व्यवस्थापन गर्दै आएको फ्रान्सेली होटल समूह हो । द म्यासिफ होटल जनावरीदेखि नै सञ्चालनमा आउने तयारीमा छ ।

रोयल टुलिप विश्वबमा ११ वटा विभिन्न ब्राण्डमा लुभ्र होटल्स ग्रुपबाट लक्जरी पाँचतारे होटल सञ्चालन गर्छ । सोही ब्राण्ड अन्तर्गतको होटल ब्राण्ड हो रोयल टुलिप । द म्यासिफले टुलिपसँगको सहकार्य गर्ने सम्झौतामा लुभ्र होटल्स भारतका निर्देशक अजय बकायालाई आमन्त्रण गरेको छ । बकाय र द म्यासिफ होटलका कार्यकारी अध्यक्ष राजेन्द्र शाक्यले जनावरी एकमा एक सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् ।

रोयल टुलिप यस अघि नै चितवनको सौराहामा रोयल टुलिप रिसोर्टबाट नेपाल भित्रिएको छ । यो रिसोर्ट पनि २०२५ को जनवरीमै सञ्चालनमा आउने भएको छ । द म्यासिफ होटलसँग रोयल टुलिप नेपालमा दोस्रो होटलमा आएको छ ।

गुण ग्रुपले यो म्यासिफ होटल साढे ६ अर्ब रुपैयाँ लगानीमा ललितपुरको ग्वार्कोमा बनाएको हो । यो पाँचतारे स्तरको होटल हो । यद्यपी पर्यटन विभागबाट स्तर वर्गीकरणपछि मात्रै होटलको स्तरीकरण हुने छ ।

गुण ग्रुपले यो होटलमा ६ अर्ब ५१ करोड १० लाख रुपैयाँ लगानीमा गरेको उल्लेख छ । यो होटल यस अघि नै सन् २०२३ को मध्यदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको भए पनि अर्थतन्त्रमा देखिएको संकुचनका कारण २०२५ मा मात्रै सन्चालनमा आउन लागेको हो ।

सन् २०१८ अगस्टदेखि शुरु भएको होटल निर्माणको काम कोरोना महामारी लगायतका कारणले सम्पन्नमा ढिलाइ भएको थियो। यो होटलमा ३०२ वटा वटा कोठा छन।

सरकारले नेपाल पर्यटन दशक २०२३/२०३२ घोषणा गरेसँगै निजी क्षेत्रले होटेलमा लगानी बढाएको हो । पछिल्लो समय पर्यटन आगमन उल्लेख्य मात्रामा बढेको छ । गुण ग्रुपले नेपालमा गुण ज्वेलर्स, गुण सिनेमा हल, गुण हाउजिङ, अपार्टमेन्ट, गुण कोलोनी, गुण रियलस्टेट, गुण एयरलाइन्स, गुण को–अपरेटिभलगायतका व्यवसाय गरेको छ ।


क्लिकमान्डु