चिया बेचेरै छोराछोरीलाई स्नातकोत्तरसम्म पढाएकी विरस तामाङ
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बेच्न थालेको २७ वर्ष भयो।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् ।
समुद्री सतहबाट एक हजार ८२३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ ।
विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाका रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो लाग्छ ।
विरसको होटलमा चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ ।
चिया तथा छालीका लागि नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० रूपैयाँमा दूध खरिद गर्ने गरिएको विरस बताउँछिन् ।
‘काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ,’ उनले भनिन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो ।
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो ।
तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङ पनि सघाउँछन् ।
सुरुमा खाना तथा खाजा बिक्री गर्दै आउनुभएकी विरसले पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्दै आएकी छन् ।
छाली र चिउरा प्रति बटुका एक सय रूपैयाँमा बिक्री गर्ने गरिएको उनले बताइन् ।
विरसले एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेकी छन् ।
एउटा छोरीले स्नातकोत्तर उत्तीर्ण गरिसकेका छन् भने अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरेका छन् । रासस
तीनैजना अहिले अध्ययनकै सिलसिलमा जापानमा छन् । चिया बिक्री गरेरै बिरसले तीन सन्तानलाई पढाएकी हुन् ।