दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो, २ जनाको जीवितै उद्धार (भिडियो)
एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरण गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त भएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय अग्नि सुरक्षा एजेन्सीले एक विज्ञप्ति जारी गर्दै यो विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको जानकारी दिएको छ ।
अग्नि नियन्त्रण विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई बताएका अनुसार दुई जनालाई जीवित उद्धार गरिएको छ।
मृत्यु हुनेहरूमध्ये ३९ पुरुष र ४६ महिला रहेका छन् ।
दक्षिण कोरियाको जीजू एयरको यो विमानमा १८१ जना सवार थिए । जानकारीअनुसार, यो विमान बैंककबाट दक्षिण कोरिया आइरहेको थियो र अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
विमान कम्पनी जीजू एयरले घटनाका लागि माफी मागेको छ । जीजू एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन विमानस्थलमा भएको यस दुर्घटनाका पीडितहरूसँग हामी नतमस्तक भएर माफी माग्छौं।’
जीजू एयरले भनेको छ, ‘घटनाका सम्बन्धमा जति गर्न सकिन्छ, हामी सबै गर्नेछौं। यस घटनाका लागि हामी अत्यन्त दुःखी छौं ।’
विमान दुर्घटनाको भिडियो फुटेजहरू सार्वजनिक भएको छ । जसमा जहाज चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको देखिन्छ ।
ल्याण्डिङको समयमा जहाजको चक्का बाहिर ननिस्किएको विमानस्थलमा उद्धारमा खटिएका अधिकारीहरूको भनाइ छ ।
भिडियोमा पनि जहाज चक्काबिना धावनमार्गमा चिप्लिएको दृश्य छ । तीव्र गतिमा चिप्लिँदै गरेको जहाज धावनमार्ग छेवैमा रहेको पर्खालसँग ठोक्किनेबित्तिकै आगो लागेको थियो ।
अग्नि नियन्त्रण विभागले दुर्घटनाको कारण चरा ठोक्किनु र खराब मौसम हुन सक्ने अनुमान गरेको छ । तर यकिन कारणको छानबिन भइरहेको छ, मुआन अग्नि नियन्त्रण विभागका प्रमुख ली जिओङ-ह्युनले एक टेलिभिज़न ब्रीफिङमा बताएका छन्।
विमानको पछाडिको भाग जस्ताको तस्तै देखिन्छ, तर ‘विमानको बाँकी भागको आकृति चिन्न सकिँदैन,’ लीले भनेका छन् ।