अदालतमा रविको इन्कारी बयान, भोलि के हुन्छ ?



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको भन्दै इन्कारी बयान दिएका छन् ।

कास्की जिल्ला अदालतमा बिहीबारदेखि थुनछेक बयानको प्रक्रिया सुरु भएको छ, जहाँ लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको बयान दिएका हुन् । इजलासमा आजबाट लामिछानेको बयान सुरु भएको छ तर बयान नसकिएकाले शुक्रबार पनि उनको बयान हुने छ ।

प्रहरीको ९० दिनको अनुसन्धानको आधारमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपमा मुद्दा दर्ता गरिएको थियो । त्यसपछि हाल अदालतमा थुनछेक बयानको प्रक्रिया चलिरहेको छ।

यसअघि सहकारी ठगी प्रकरणमा मुछिएकी लिला पछाईंको बयान लिइएको थियो । सोमबार र मंगलबार गोरखा मिडियाका सञ्चालक र पूर्वडीआईजी छविलाल जोशीको बयान पनि लिइएको थियो ।


क्लिकमान्डु