काइवीको मिनी कार ईक्विट जेरो फोर एकैपटक ३० युनिट डेलिभरी, कति पर्छ ?



काठमाडौं । चिनियाँ ब्राण्ड काइवीको मिनी कार ईक्विट फोर एकैदिन ३० युनिट डेलिभरी भएको  छ ।

जिओ अटोमोबाइल्स र लक्ष्मी ग्रुपको लक्ष्मी ईमोबिलिटीले सयुक्त रुपमा ३० युनिट कार डेलिभरी गरेका हुन् । बिहिबार सयुक्त रुपमा एक विशेष कार्यक्रम गरेर दुई कम्पनीले सयुक्त रुपमा कार ग्राहकलाई डेलिभरी गरेका हुन् ।

जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले असोज दोस्रो साताको बाढीले बाटो बिग्रेर आयातमा ढिलाइ भएको बताए । ‘डेलिभरीमा पहिरोका कारण आयात गर्न नसक्दा ढिलाई भयो । यो कार सन् २०१४ मा चीनमा सुरु भएको थियो । फाइनान्सियल हिसाबले सरकारको समेत लगानी भएका हुँदा बलियो छ । यो कार ३० देशमा छ । रसियामा धेरै मन पराएको कार हो,’ गोल्छाले भने, ‘नेपालमा पनि राम्रो चल्छ भन्ने विश्वास छ ।’

उनका अनुसार इक्विटमा फोर शहरको लागि उपयोगी कार हो । ‘ जिओ र लक्ष्मी समूह जुन कम्पनीबाट किने पनि सर्भिस पाइन्छ । मेरो २३/२४ बर्ष देखिको अटोमोबाइलको अनुभव छ । भारतमा फोर्ड बन्द हुँदा पनि हामीले राम्रो सर्भिस दिएका छौं । सर्भिसमा ध्यान दिन्छौं,’ उनले भने ।

यो कारले ३०० किमीसम्म रेन्ज दिन्छ । ३६० डिग्री क्यामेरा छ । ४० किलोवाटको मोटर छ । २८.०८ किलोवाट आवर ब्याट्री प्याक छ । ११० एनएम टर्क छ । १६५ एमएम ग्राउण्ड क्लियरेन्स छ । २३७ लिटर बुट स्पेस उपलब्ध छ । यो कारको १९ लाख ९६ हजार रुपैयाँदेखि २४ लाख ९६ हजार रुपैयाँ पर्छ ।

गत भदौमा सम्पन्न नाडा अटो शो मार्फत सार्वजनिक भएको यो कार ३ वटा भेरियन्ट उपलब्ध छ ।


क्लिकमान्डु