महँगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या बढ्दै, कम मोबाइल आयात हुँदा पनि बढ्यो भन्सार



काठमाडौं । महँगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या बढ्दै गएको देखिएको छ । नेपाल भित्रने मोबाइलको संख्या कम हुनु र भन्सार मूल्य भने बढ्दै जानुले महँगा स्मार्टफोन बोक्ने नेपालीको संख्या बढ्दै गएको देखिएको हो ।

मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राका अनुसार तीन वर्ष अघिको तुलनामा अहिले आउने स्मार्ट फोन महँगा र बढी फिचर भएका खोज्ने ग्राहकको संख्या बढेको छ ।

प्रविधिको प्रयोगसँगै नेपालीले पनि धेरै फिचर भएको, मूल्य तुलनात्मक रुपमा बढी भएका र एआई फिचरसमेत सपोर्ट गर्ने मोबाइल खोज्न थाल्नुले पनि नेपालमा महँगा स्मार्टफोन भित्रने क्रम बढिरहेको उनको भनाइ छ ।

प्रविधिको विकाससँगै नयाँ स्मार्ट फोन बोक्ने नेपालीको रुची र चासो अनुसारका मोबाइल आउनुले पनि विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा महँगा मोबाइलको प्रयोग पनि बढ्ने गरेको मल्होत्राको भनाइ छ । ‘बेसिक बार फोन बोक्ने नेपाली स्मार्ट फोनमा सिफ्ट हुँदा मोबाइल संख्यामा कम आए पनि भन्सार बढेको हो,’ उनले भने ।

भन्सार विभागले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ९ लाख ९० हजार वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्ट फोन १५ अर्ब १८ करोड रुपैयाँ भन्सार मूल्यका छन्।

आर्थिक वर्ष २०७६/७७ मा २५ लाख वटा फोन आउँदा १० अर्ब ३६ करोड रुपैयाँ मात्रै भन्सार मूल्य तोकिएको थियो । पछिल्लो समय मोबाइलका संख्या घटेपछि त्यसको मूल्य भने बढी हुने गरेको कारण भन्सार मूल्य पनि धेरै हुने गरेको तथ्यांकले देखाएका छ ।

मल्होत्रा थप्छन्, ‘३/४ वर्ष अगाडिसम्म स्मार्ट फोनसँगै बार फोन पनि उत्तिकै संख्यामा भित्रने गरेको थियो । तीन वर्ष अगाडि ५० प्रतिशत संख्यामा आउने बार फोन अहिले २० प्रतिशतको हाराहारीमा मात्रै छ भने बाँकी सबै स्मार्ट फोन रहेको छन् ।’

स्मार्ट फोन अहिले नेपालीले रुचाउने र सबैभन्दा बढी बिक्री हुनेमा २० देखि ४० हजार रुपैयाँसम्मको मोबाइल रहेको छ । यसको अर्थ ४० हजार रुपैयाँसम्मका मोबाइलमा नेपालीको बढी रुची देखिएको हो ।

सरकारले १ वर्ष अगाडि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भनेका कारण घटेको चोरी पैठारी अहिले फेरि बढ्दै गएको मोबाइल व्यवसायी बताउँछन् ।

व्यवसायीका अनुसार पछिल्लो समय सरकारले एमडीएमएस लागू नगरेकै कारण मोबाइलेका चोरी पैठारी फेरि बढ्न थालेको छ ।


क्लिकमान्डु