संसारका धेरै देशले छुट्याएका छन् उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक, क्यान टुक्राउँदा यस्ता फाइदा
नेपालमा विमानस्थलका पूर्वाधार, एटीसी सेवा, एयर नेभिगेसन सेवा लगायतका पक्षहरू आइकाओले तोकेको मापदण्डअनुसार छन् कि छैनन् भन्ने विषयमा हाल देशभित्रको स्वतन्त्र निकायले अडिट गर्ने अभ्यास छैन । तर, उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय अलग बनाउँदा यी सेवाहरूको गुणस्तर र सुरक्षा सुनिश्चित गर्न स्वतन्त्र निकायद्वारा अडिट हुनुको साथै यसले उड्डयन क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग गर्नेछ ।
काठमाडौं । नेपालको हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी कानुन बनाउन प्रक्रिया फेरि सुरु भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ संघीय संसद्मा पेस गर्न निर्णय गरेसँगै उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने प्रक्रिया अगाडि बढेको हो ।
सरकारले प्रस्ताव गरे अनुसार कानुन संसद्ले पारित गरेमा नेपाल नागरिक उड्डयन प्राधिकरणले उड्डयन क्षेत्रको नियामक निकायको रूपमा काम गर्नेछ भने नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थल व्यवस्थापन, एयर ट्राफिक सेवा प्रदान, एयर नेभिगेसन सेवा प्रदान जस्ता काम गर्नेछ ।
हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले आफैं विमानस्थल निर्माण गर्ने, सञ्चालन अनुमति दिने र नियमन गर्ने काम गर्छ । यस्तै, प्राधिकरण आफैंले एयर ट्राफिक कन्ट्रोलरलाई तालिम दिने, लाइसेन्स दिने, काम लगाउने तथा मुल्यांकन र अडिट गर्ने काम गर्छ ।
एयर नेभिगेसन सेवा आफैं प्रदान गर्ने प्राधिकरणले एयर नेभिगेसन सेवाको गुणस्तर यकिन भए/नभएको विषयमा आफैं अडिट गर्ने काम गर्छ । प्राधिकरणले त्यसबाहेक पाइलटलाई लाइसेन्स दिने, विमान सञ्चालनको अनुमति दिने, हवाई सुरक्षा र उड्डयन सुरक्षाका मापदण्ड तय गर्ने काम समेत गर्छ । हाल सबै काम एउटै निकाय मातहत हुँदा विमानस्थलमा कमजोर पूर्वाधार भएका विषयमा समेत पाइलट वा अन्य संस्थाले प्राधिकरणमा उजुरी गर्न सक्ने अवस्था हुँदैन ।
आज विमानस्थलको महाप्रबन्धक भएको व्यक्ति भोलि प्राधिकरणको महानिर्देशक हुने वा वायुसेवा कम्पनी तथा पाइलटलाई नियमन गर्ने ठाउँमा पुग्ने जोखिमले वायुसेवा कम्पनी तथा पाइलटले एटीसीले दिने सेवा, नेभिगेसन सेवा वा विमानस्थलको सेवाका विषयमा गुनासो गर्ने गर्दैनन् ।
औपचारिक रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्झौता भनेर सन् १९४४ को सिकागो सम्झौताले उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायकको स्थापना गर्ने आधारभूत ढाँचाको तयारी गरेको थियो । त्यस सम्झौताले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सञ्चालनमा सुरक्षा, प्रभावकारिता, र निष्पक्षता सुनिश्चित गर्न नियामक कार्यहरू र सेवा प्रदायकलाई अलग राख्न आवश्यक रहेकोमा जोड दिएको थियो ।
संसारका केही देशहरूले विमानस्थल सञ्चालनको जिम्मेवारी छुट्टै निकायलाई दिने, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सेवा र एयर नेभिगेसन सेवा सञ्चालनको जिम्मेवारी छुट्टै निकायलाई दिने तथा समग्र उड्डयन क्षेत्रको नियामक निकायको रूपमा छुट्टै संस्था बनाउने गरेका छन् ।
सेवा प्रदायकहरूले आफूले सञ्चालन गर्ने सेवा सम्बन्धी कार्यमा केन्द्रित हुनुपर्ने र नियामकद्वारा निर्धारित मापदण्डहरू पालन गर्नुपर्ने अवधारणासहित सेवा प्रदायक र नियामक निकाय छुट्टाउने अवधारणा विकास भएको थियो । स्वार्थको द्वन्द्व घटाउन, जवाफदेहिता बढाउन, र उड्डयन क्षेत्रमा उच्च सुरक्षा कायम गर्न यो अवधारणा विकास गरिएको आइकाओको भनाइ रहँदै आएको छ ।
धेरै देशहरूले सिकागो सम्झौताअनुसार कानुन बनाउँदै उड्डयन क्षेत्रमा स्वतन्त्र नियामक निकाय र फरक फरक सेवा प्रदायक गठन गरेका छन् । नेपालसहितका केही देशहरूमा भने अहिले पनि विमानस्थल सञ्चालन, एटीसी (एयर ट्राफिक कन्ट्रोल), नेभिगेसन सेवाहरू, र नियामकीय काम गर्ने एउटै संस्था छन् ।
यस्तो छ दक्षिण एसियाको अवस्था
दक्षिण एसियाली देशहरू मध्ये ६ वटा देशमा उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय फरक फरक छन् भने २ वटा देशमा एउटै निकायले दोहोरो भूमिका निर्वाह गर्दै आएका छन् ।
भारत, श्रीलंका, मालदिभ्स, र भुटानमा भने विमानस्थल सञ्चालन, एटीसी र नेभिगेसन सेवा प्रदान गर्ने निकाय र नियमनकारी निकाय फरक फरक छन् । गत असोजदेखी पाकिस्तानमा पनि सेवा प्रदायक र नियामक निकाय फरक फरक भइसकेको छ । बंगलादेशमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने गरी संसदले कानुन पारित गरिसकेको छ ।
प्राय: विकसित देशहरूमा उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय फरक फरक बनाउने गरिन्छ । उड्डयन क्षेत्रमा पारदर्शिता, सुरक्षा, र जवाफदेहिता प्रवर्धन गर्न सेवा प्रदायक र नियामक फरक हुनु पर्ने जानकारहरू बताउँछन् ।
यद्यपि नेपाल र अफगानिस्तानमा एउटै निकायले विमानस्थल निर्माण र सञ्चालन, एटीसी र नेभिगेसन सेवा प्रदान तथा नियामकीय संस्थाको काम गर्दै आएको छ ।
भारतमा एयरपोर्ट अथोरिटी अफ इन्डिया र निजी कम्पनीहरूले विमानस्थल सञ्चालनकर्ता रूपमा काम गरिरहेका छन् भने एटीसी र नेभिगेसन सेवाहरू एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्रदान गर्ने गर्छ । नियामक निकायको रूपमा डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन कार्यरत छ ।
भुटानमा सिभिल एभिएसन अथोरिटीलाई नियमनकारी निकायको जिम्मेवारी दिइएको छ भने हवाई यातायात विभागलाई विमानस्थल सञ्चालन, एयर नेभिगेसन सेवा, एटीसी सेवा प्रदान गर्ने जिम्मेवारी दिइएको छ ।
श्रीलंकामा एयरपोर्ट एण्ड एभियसन सर्भिस श्रीलंकाले विमानस्थल व्यवस्थापन गर्ने, एटीसी र नेभिगेसन सेवा प्रदान गर्ने काम गर्छ भने नियामक निकायको रूपमा श्रीलंका नागरिक उड्डयन प्राधिकरणले काम गर्दै आएको छ ।
मालदिभ्समा विमानस्थल सञ्चालन गर्ने, एटीसी र एयर नेभिगेसन सेवा प्रदान गर्ने जिम्मेवारी मालदिभ्स एयरपोर्ट कम्पनीलाई दिइएको छ भने मालदिभ्स नागरिक उड्डयन प्राधिकरणले नियमनकारी निकायको रूपमा काम गर्दै आएको छ ।
पाकिस्तानले पाकिस्तान नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकायको जिम्मेवारी दिँदै पाकिस्तान एयरपोर्ट्स प्राधिकरणलाई विमानस्थल व्यवस्थापन, एटीसी र नेभिगेसन सेवा प्रदान गर्ने जिम्मेवारी दिएको छ । यस्तै, हवाई सुरक्षा अनुसन्धान ब्यूरोलाई हवाई दुर्घटनाको स्वतन्त्र अनुसन्धान गर्ने निकाय बनाएको छ । पाकिस्तानले गरेको निर्णयसँग नोभेम्बरमा युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सी पाकिस्तानका वायुसेवा कम्पनीलाई लगाएको प्रतिबन्ध हटाएको छ।
यस्तै, बंगलादेशमा पनि नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी विमानस्थल व्यवस्थापन, एटीसी र नेभिगेसन सेवा प्रदान गर्ने गरी छुट्टै निकाय बनाउने तथा नियामक निकायको रुपमा अर्को निकाय बनाउने तयारी गरेको छ ।
अफगानिस्तानमा भने अफगानिस्तान नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापन, एटीसी र नेभिगेसन सेवा प्रदान गर्ने तथा नियामक निकायको भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमासमेत नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा प्रदायक र नियामक निकायको रूपमा काम गरिरहेको छ । गत शुक्रबार सरकारले गरेको निर्णय अनुसार संसदमा पेस हुने प्रतिवेदन पारित भएमा नेपालमा समेत उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्टाउने काम अगाडि बढ्ने छ ।
धनी देशहरूमा यस्तो छ अवस्था
संयुक्त राज्य अमेरिकामा विमानस्थल सञ्चालन गर्न छुट्टाछुट्टै कम्पनी स्थापना भएका छन् । लस एन्जलसमा रहेको विमानस्थल सञ्चालन गर्ने कम्पनी र न्यूयोर्कमा रहेको विमानस्थल सञ्चालन गर्ने कम्पनी फरक फरक छन् । अमेरिकामा स्थानीय सरकार र निजी क्षेत्रहरूले विमानस्थल सञ्चालन गर्छन् । तर, फेडरल एभिएसन एड्मिनिस्ट्रेशनले एटीसी र नेभिगेसन सेवाहरू प्रदान गर्नुको साथै अमेरिकाका विमानस्थलको मापदण्ड तय गर्ने, धावनमार्गको गुणस्तर यकिन गर्ने, वायुसेवा कम्पनी, पाइलट लगायतका निकायलाई नियमन गर्ने काम गर्छ ।
बेलायतमा भने विमानस्थल सञ्चालनकर्ताको रूपमा निजी कम्पनीहरूले काम गर्छन् । नेशनल एयर ट्राफिक सर्विसेसले एटीसी र नेभिगेसन सेवाहरू उपलब्ध गराउँछ भने सिभिल एभिएसन अथोरिटी नियामक निकायको रूपमा कार्यरत छ ।
नेपाल सरकारले संसदमा दर्ता गर्ने निर्णय गरेको विधेयकमा नेपालको उड्डयन क्षेत्रलाई बेलायतभन्दा पनि अमेरिकी मोडलमा विकास गर्न खोजिएको छ ।
हाल अस्ट्रेलियामा निजी कम्पनीहरूले विमानस्थल सञ्चालनकर्ताको रूपमा काम गरिरहेका छन् । एटीसी र नेभिगेसन सेवाहरू एयरसर्भिसेस अस्ट्रेलियाले उपलब्ध गराउँछ भने सिभिल एभिएसन सेफ्टी अथोरिटी नियामक निकायको रूपमा कार्यरत छ ।
क्यानडामा सरकारी र निजी संस्थाहरू विमानस्थल सञ्चालनकर्ताको भूमिकामा छन् भने निजी क्षेत्रले सञ्चालन गरेको गैर नाफामूलक संस्थाले एटीसी र नेभिगेसन सेवाहरू प्रदान गर्छ । यस्तै, ट्रान्सपोर्ट क्यानडा नियामक निकायको रूपमा कार्यरत छ।
जर्मनीमा पनि विमानस्थल सञ्चालनकर्ता, एटीसी र नेभिगेसन सेवाहरू र नियामक निकाय फरक फरक छन् । सार्वजनिक र निजी संस्थाले विमानस्थल सञ्चालन गरेका छन् भने एटीसी र नेभिगेसन सेवाहरू जर्मन एयर नेभिगेशन सेवा प्रदायकले उपलब्ध गराउँछ, फेडरल एभिएसन अफिस नियामक निकायको रूपमा कार्यरत छ ।
फ्रान्समा पनि सार्वजनिक र निजी संस्थाले विमानस्थल सञ्चालन गर्छन् भने एटीसी र नेभिगेसन सेवा डाइरेक्सन डेस सर्भिसेस डे ला नेभिगेसन एरियनले उपलब्ध गराउँछ, डाइरेक्सन जेनेराल डे ल’एभिएसन सिभिल (डिजीएसी) नियामक निकायको रूपमा कार्यरत छ ।
जापानमा विमानस्थल सञ्चालनकर्ताहरू सार्वजनिक र निजी कम्पनीहरू छन् । एटीसी र नेभिगेसन सेवा उपलब्ध गराउने र नियमन निकायको रूपमा जापान सिभिल एभिएसन ब्युरोले काम गरिरहेको छ ।
सिंगापुरमा पनि जापान जस्तै विमानस्थल निर्माणकर्ता छुट्टै निकाय छ भने एटीसी र नेभिगेसन सेवाहरू प्रदान गर्ने र नियमन गर्ने गरी सिभिल एभिएसन अथोरिटी अफ सिंगापुरले काम गरिरहेको छ ।
दक्षिण अफ्रिकामा एयरपोर्ट्स कम्पनी दक्षिण अफ्रिकाले विमानस्थल सञ्चालन गर्ने, एयर ट्राफिक एन्ड नेभिगेसन सर्भिसेसले एटीसी र नेभिगेसन सेवाहरू प्रदान गर्ने तथा दक्षिण अफ्रिका सिभिल एभिएसन अथोरिटी नियामक निकायको रूपमा कार्यरत छ ।
न्यूजील्याण्डमा विमानस्थल सञ्चालनकर्ताहरू छुट्टाछुट्टै कम्पनीहरू छन् भने एटीसी र नेभिगेसन सेवाहरू एयरवेज न्यूजील्याण्डले उपलब्ध गराउँछ, नियामक निकायको रूपमा सिभिल एभिएसन अथोरिटी कार्यरत छ ।
संयुक्त अरब इमिरेट्समा दुबई एयरपोर्ट्स, अबु धाबी एयरपोर्ट्स लगायतका फरक फरक कम्पनीहरूले विमानस्थल सञ्चालन गर्ने काम गर्छन् भने एटीसी र नेभिगेसन सेवाहरू प्रदान गर्ने र नियमन गर्ने निकायको रूपमा जनरल सिभिल एभिएसन अथोरिटी स्थापना भएको छ ।
ब्राजिलमा पनि विमानस्थल सञ्चालन गर्ने कम्पनी फरक फरक हुँदा एटीसी र नेभिगेसन सेवाहरू डिपार्टमेन्ट अफ एयरस्पेस कन्ट्रोलले उपलब्ध गराउँछ भने नेशनल सिभिल एभिएसन एजेन्सी नियामक निकायको रूपमा कार्यरत छ ।
नेदरल्याण्ड्स र स्विडेनमा पनि विमानस्थल सञ्चालन गर्ने कम्पनी, एटीसी र नेभिगेसन सेवाहरू दिने र नियामक निकाय फरक फरक छन् ।
सेवा प्रदायक र नियामक फरक हुँदा के हुन्छ ?
उड्डयन क्षेत्रमा विमानस्थल निर्माण र सञ्चालन, पाइलट, वायुसेवा कम्पनी, ग्राउन्ड ह्यान्डलिङ कम्पनी, एयर नेभिगेसन सेवा, एटीसी सेवा लगायतका विभिन्न प्रकारका सेवा प्रदायक हुने गर्छन् ।
हवाई सुरक्षा र उड्डयन सुरक्षामा उड्डयन क्षेत्रसँग सम्बन्धित सेवाहरूको निकै महत्त्वपूर्ण भूमिका हुन्छ । सेवा प्रदायकले चुस्त सुविधा दिएको वा नदिएको यकिन गर्ने मुख्य जिम्मेवारी नियमनकारी निकायको हुन्छ ।
यदि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय एउटै भएको अवस्थामा उडान सुरक्षा प्रभावित हुने तर्क गरिँदै आएको छ । यस्तै, एउटै संस्थाको दोहोरो भूमिकाले उड्डयन सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारितामा समेत प्रभाव पार्ने आइकाओका अधिकारीहरू बताउँछन् । सेवा प्रदायक र नियामक निकाय फरक हुँदा कयौँ लाभ हुन सक्छन् ।
नियामक निकायले सुरक्षा मापदण्डलाई कडाइका साथ लागू गर्ने सम्भावना बढी हुन्छ । एउटै निकाय सेवा प्रदायक र नियामक भएको अवस्थामा स्वतन्त्र रहेर सबै सेवा प्रदायकलाई समान रूपमा निगरानी गर्न सम्भव नहुने जानकारहरूको तर्क छ । उडान सुरक्षा बढाउन वायुसेवा कम्पनीको सुधारसँगै विमानस्थल भित्र एयर साइटको सुधार पनि आवश्यक हुन्छ । तर, नेपालका प्रायः विमानस्थलले आइकाओको एनेक्स १४ मा रहेको मापदण्ड पूरा गरेका छैनन् । आफैं विमानस्थल निर्माणमा संलग्न रहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका पूर्वाधारको प्रभावकारी अडिट गर्न सकेको छैन ।
सेवा प्रदायक र नियामक निकाय फरक हुँदा पारदर्शिता कायम हुने र त्यसले ग्राहक, कर्मचारी र सरोकारवालाहरूको लागि विश्वसनीयता बढाउने आइकाओको तर्क छ । नियामक निकायले सेवा प्रदायकहरूलाई प्रतिस्पर्धात्मक रूपमा काम गर्न वातावरण तयार गर्ने हुँदा उपभोक्ताले राम्रो सेवा पाउने सम्भावना बढ्छ । सेवा प्रदायकलाई आफ्नो सेवाको गुणस्तर सुधार्न लगाउँदा नियामक निकायमा विशेषज्ञता विकास हुने सम्भावना हुन्छ ।
यदि सेवा प्रदायक र नियामक निकाय बीच समन्वयको अभाव भएमा यसका कयौँ बेफाइदा पनि छन् । सेवा प्रदायक र नियामक निकाय बीच सहकार्य नहुँदा आपत्कालीन अवस्थामा समस्या सिर्जना हुन सक्छ । नियमहरू कठोरताका साथ लागू गराउन खोज्दा सेवा प्रदायक र नियामक बीच द्वन्द्व बढ्ने जोखिम हुन्छ ।
नियामक निकायले आवश्यकता भन्दा बढी हस्तक्षेप गर्दा सेवा प्रदायकहरूको आर्थिक वा व्यावसायिक क्षमतालाई कमजोर पार्ने जोखिम हुने, नियामक निकायका अधिकारीले स्वार्थपूर्ण निर्णय गर्दा भ्रष्टाचार र अनियमितता बढ्ने जोखिम हुन्छ । यस्तै, नियमन निकायले सेवा प्रदायकलाई अनावश्यक दबाब दिने जोखिम हुन्छ । एउटै निकायबाट भइरहेको काम दुईवटा निकायबाट गराउँदा प्रक्रिया ढिलो हुने जोखिम हुन्छ ।
सेवा प्रदायक र नियामक निकाय बीच समयमै र स्पष्ट संवाद गर्नुको साथै नियमहरूको कार्यान्वयन गर्दा सेवाको लचकता कायम राख्दै जानु पर्ने सरोकारवाला बताउँछन् । नियामक निकायले राजनीतिक वा व्यावसायिक दबाबबाट मुक्त रहेर आफ्नो काम गर्न सकेको अवस्थामा देशले फरक सेवा प्रदायक र नियामक निकायबाट लाभ लिन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय फरक हुँदा सुरक्षा, प्रतिस्पर्धा, र गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्न सक्छ, तर प्रभावकारी व्यवस्थापन बिना यसले समस्याहरू पनि निम्त्याउने जोखिम हुन्छ । दुवै निकाय बीचको सन्तुलित र सहकार्यपूर्ण सम्बन्धले मात्र उड्डयन क्षेत्रलाई विश्वसनीय, प्रभावकारी, र समृद्ध बनाउन सक्छ ।