कास्की जिल्ला अदालतमा आज पनि बयान, रविको होला?
पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनाको बयान कास्की जिल्ला अदालतमा आज पनि हुने भएको छ ।
सोमबार न्यायाधीश नीतिज राईको इजलासमा बयान प्रक्रिया सुरु भएको थियो । तर नसकिएपछि आज पनि जारी हुने भएको हो।
सोमबार पूर्वडीआइजी छविलाल जोशीको बयान सुरू भएको छ । पहिलो दिन इजलासमा १५ वटा प्रश्न सोधिएको भए पनि बयान सम्पन्न नभएकाले आज (मंगलबार) पनि निरन्तर हुनेछ । छविलालको बयान सकिएपछि अन्य आरोपितहरूको बयान हुने छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक छविलाल जोशीलगायत पाँच जना आरोपी छन् । रवि लामिछानेसहित अन्य सबैको बयान पनि राईकै इजलासमा हुनेछ । प्रारम्भिक सुनुवाइपछि थुन्ने वा छाड्नेबारे निर्णय गरिनेछ ।
लामिछाने माथि प्रहरीले गरेको अनुसन्धान अनुसार जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारी ऐन २०७४, सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४, संगठित अपराध निवारण ऐन २०७० राष्ट्र बैंक ऐन २०५८ मुलुकी फौजदारी संहिता २०७४ विपरीत काम गरेको आरोप लगाइएको छ। लामिछाने सहित ६३ जना विरुद्ध दायर मुद्दा जिल्ला अदालत पोखरामा विचाराधिन छ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले यसअघि नै दायर मुद्दामा पूरक अभियोजनपत्र दर्ता गराएको हो। मूल अभियोजनपत्र थप अभियोजनपत्र र पूरक अभियोजनपत्र गरी कुल ६३ जना सहकारी ठगीमा संलग्न भएको अनुसन्धान प्रतिवेदनको दाबी छ।
राष्ट्रिय स्वतन्त्रका पार्टीका सभापति रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सहकारी ऐन २०६४ को दफा ५० को उफदफा ६ विपरीतको काम गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
सहकारी ऐनको दफा ५० को उपदफा ६ मासहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्न बाहेक अचल सम्पत्ति खरिद पूर्वाधार निर्माण कारोबारमा लगानी फर्म वा कम्पनी वा कुनै बैंकको सेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपभोग गर्न नहुने उल्लेख छ । लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा सङ्गठितरूपमा समूह बनाई सहकारीको बचत हिनामिना गरी ल्याई उक्त रकम प्रयोग गर्नुका साथै लामिछानेले दस्तखत गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र स्वर्ण लक्ष्मी बहुउद्देशीय सहकारी संस्थालाई भुक्तानी दिएको देखिरहेकाले सहकारी ऐन विपरीको कसुर गरेको प्रहरीको दाबी छ।
प्रहरीले रवि लामिछानेको नाममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ करोडको ऋण खडा गरेको सोही कुरा सहकारी संस्था लिमिटेडको कम्प्युटरमा रहेको डिजिटल अभिलेख समेतबाट पुष्टि भएको र उल्लेखित तथ्य सहकारी संस्था लिमिटेडबाट बरामद भएको ऋण प्रवाह सम्बन्धी रजिस्टरमा समेत उल्लेख भएको जनाएको छ । सहकारी संस्थामा बचत अवचलन गर्नका लागि कृत्रिम व्यक्तिहरू खडा गर्ने वास्तविक ठेगाना उल्लेख नगरी काल्पनिक ठेगाना उल्लेख गरी गराई बचत अपचलन गरेको प्रहरीको आरोप छ ।
सहकारीमा रवि लामिछानेका नाममा खुलेको खातामा भिआइपी अकाउन्ट उल्लेख भएको विवरण फेला परेको भन्दै लामिछाने समेतको समूहले पर्दा पछाडिबाट आफ्नो समूहका व्यक्तिलाई परिचालन गरी संगठित अपराध गरेको प्रहरीको जिकिर छ ।
कम्पनीको सेयर किनबेचमा झुटा विवरण पेश गरी स्वामित्व हस्तान्तरण गर्ने कार्य समेत आपराधिक भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । लामिछाने समेतका व्यक्तिले बैंक वित्तीय संस्थामा खाता खोल्दा र सहकारी सञ्चालन गर्दा सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम कानुन पालना गर्छु भन्ने प्रतिबद्धता जनाएकोमा उक्त कानुनहरू पालना नगरी आपराधिक गतिविधि गरेको प्रहरीको आरोप छ। लामिछानेले सहकारी संस्थाबाट व्यक्तिगत रुपमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।