रविको मुद्दा देशकै कान्छा न्यायाधीश राईको इजलासमा
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधको अभियोगमा आइतबार कास्की जिल्ला अदालतमा दर्ता भएको मुद्दामा सुनुवाइ भइरहेको छ ।
लामिछानेसहितका आरोपितहरूलाई सोमबार बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइयो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दामा उनीहरूको बयान प्रक्रिया न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको छ।
बयानका क्रममा लामिछानेसँगै अन्य प्रतिवादीहरूको संगठित अपराधमा संलग्नता, सहकारी ठगीका घटनाक्रम, र सम्पत्ति शुद्धीकरणको प्रक्रिया अध्ययन गरिनेछ । सबै आरोपितहरूको बयान पूरा भएपछि थुनछेक बहस हुनेछ । बहसपछि अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ।
यो मुद्दामा रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र जिबी राईविरुद्ध विशेष रूपमा सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र संगठित अपराधको अभियोग लगाइएको छ । त्यस्तै, आठ वटा कम्पनी र अन्य प्रतिवादीहरूविरुद्ध सहकारी ठगी र संगठित अपराधका मुद्दा दर्ता भएका छन्।
रविसहितको मुद्दा पेसीमा परेका न्यायाधीश राई देशभरका कान्छा जिल्ला न्यायाधीश हुन् जसले यो मुद्दाको सुनुवाइ गर्दै छन् । उनले हालै न्यायाधीशका लागि आयोजित परीक्षा पास गरेर न्यायालयमा प्रवेश गरेका हुन् । उनी गत असारमा मात्रै लिखित परिक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । राई २०४७ भदौमा जन्मिएका हुन् ।
अब उनको इजलासले उक्त मुद्दाको प्रारम्भिक सुनुवाइमार्फत कानूनी प्रक्रिया अघि बढाउनेछ।