रवि लामिछानेका नाममा सहकारीमा ‘भीआईपी एकाउन्ट’, जानकारहरु भन्छन्: अवैध अभ्यास




काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नाममा २ वटा सहकारीमा भिआइपी अकाउन्ट खुलेको पाइएको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोगपत्रमा लामिछानेको नाममा २ वटा सहकारीमा ‘भीआईपी एकाउन्ट’ खोलेको उल्लेख छ ।

प्रहरीले अनुसन्धानका क्रममा लामिछानेको निर्देशनमा पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भिआईपी अकाउन्ट खुलेको तथ्य फेला पारेको दाबी गरेको हो । ‘सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट १ करोड रुपैयाँ ऋण लिएको गोश्वरा भौचर बरामत भएको, सोही कुरा सहकारी संस्थाको कम्प्युटरमा रहेको डिजिटल अभिलेखबाट पुष्टी भएको र सहकारी संस्थाको ऋण प्रवाह सम्बन्धी रजिष्ट्ररमा समेत उल्लेख गरेबाट सहकारीबाट ऋण लिएको स्पष्ट देखिएको छ,’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

‘प्रतिवादी रवि लामिछाने समेतले सहकारी संस्था लिमिटेडमा खाता खोली निजहरूको आदेश निर्देशनमा उक्त खातालाई ‘भीआईपी एकाउन्ट’ उल्लेख गरी विवरण राख्न लगाएको देखिन आएबाट निजहरूले आफू पर्दा पछाडी रही आफ्नो समूहमा रहेका मानिसहरूलाई परिचालन गरी संगठित रुपमा अपराध गरेको देखिन्छ’ भन्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगीका साथै लामिछानेले सहकारीमा भीआईपी एकाउन्ट खोलेर संगठित अपराध गरेको देखिएको छ ।

उक्त प्रतिवेदनमा लेखिएको छ ‘यी प्रतिवादीले आफ्नो वतन समेत गोप्य राख्न लगाई सहकारी सञ्चालहरू र कर्मचारीहरूलाई प्रभावमा पारी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ‘भीआईपी एकाउन्ट’ भनी, डिजिटल केवाईसी समेतको विवरण राखेको देखिन्छ । उल्लिखित तथ्यहरूको आधारमा यी प्रतिवादी गितेन्द्र बाबु राईसँग मिलेमतो गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने उद्देश्यले मोलाहिजा गरी गराई गैर कानूनी रुपले लाभ लिएको तथ्य स्थापित हुन्छ’ भन्ने उल्लेख छ ।

सुप्रिम सहकारीबाट २०७७ चैत १८ गते रवि लामिछानेको नाममा स्वीकृत भएको २ करोड गोर्खा मिडिया नेटवर्कमा जम्मा भएको र त्यसमा रवि लामिछानेको नाम लेखिएको उल्लेख छ । सहकारीका जानकारहरु सहकारी क्षेत्रमा भिआईपी एकाउन्ट भने नखोलिने बताउँछन् ।


क्लिकमान्डु