फाइनलमा फरक खेल पस्कँदै जनकपुर, दुईपल्ट हराएको अपोनेन्टलाई सुदूरले कमजोर नआँक्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् ।
हालसम्म बलियो सुदूरपश्चिम दुई पटक जनकपुरलाई पहिलो क्वालिफायर र लिग चरणको खेलमा हराइ सकेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार साढे १२ बजे सुरु हुने फाइलनमा जित निकाल्न दुवै टोली तयारीमा छन् ।
क्वालिफायर एकमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको थियो । यो आधारमा सुदूरपश्चिमलाई केही सहज हुनेछ । यता क्वालिफायर दुईमा कर्णाली याक्सलाई हराउँदै जनकपुरले फाइनलमा स्थान बनाएको थियो ।
लिग चरणको खेलमा सुदूरपश्चिमले समग्रमा फाइनल पुग्न अघि ८ खेल खेल्दा १ खेलमा मात्र पराजय बेहोर्यो । यता जनकपुरले प्रतियोगिताको लिग चरणका ७ खेल मध्य ५ खेलमा जित निकाल्यो । लिगचरणमा जनकपुर सुदूरपश्चिमसँग पराजित भएको थियो ।
क्वालिफायर १ मा पनि सुदूरसँगै पराजित जनकपुरले क्वालिफायर २ मा भने जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनलमा खेलमा जित निकाल्दै पहिलो संस्करणको उपाधि आफ्नो पोल्टोमा पार्ने योजनामा दुवै टिम छन् ।
सुदूरपश्चिमका प्रशिक्षक जगत टमाटाले टिमले उपाधि जित्नलाई खेल्ने बताए । सुदूरपश्चिमले यसअघि गरेका प्रदर्शनभन्दा धेरै फरक नआउने गरेर खेल्ने बताए ।
‘हामीले पहिलेको खेलहरुका जस्तो प्रदर्शन गरेका थियौं फाइनलमा पनि त्यसै अनुसार जानेछौं । भोलिको पिच कन्डिसन हेर्दा कस्तो टिम तयार गर्ने अनि कुन खेलाडीलाई चान्स दिने भन्ने थाहा हुनेछ । जनकपुरलाई दुई पटक पराजित गरेपनि हामी कमजोर आँक्ने छैनौं । टी–ट्वान्टी क्रिकेट हो जो पनि बलियो हुन्छ,’ टमाटाले क्लिकमान्डुसँगको कुराकानीमा भने ।
यता जनकपुर पनि प्रतियोगिताको उपाधि चुम्ने दाबेदार बनेर प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो चार खेलमा जित निकाल्दै बलियो बनेको टोली उपाधि जित्दै प्रतियोगितामा आफूलाई पहिलो विजेता बनाउने योजनामा छ, जनकपुर । टिमका प्रशिक्षक पुबुदु दसनायके पनि सोही योजनामा छन् ।
‘हामी पछिल्लो दुई खेलमा कजोर भएका थियौं । प्रतियोगितामा सुरुवाती खेलमा जित निकाल्दा केही प्रश्न थिएनन् । अब प्रश्न उठ्न थालेका छन् । तर, फाइनल खेलमा जकनपुरको बेग्लै प्रदर्शन हुनेछ,’ पुबुदुले क्लिकमान्डुसँगको कुराकानीमा भने ।
यता दुवै टोलीका कप्तान पनि उपाधि जित्नेमा ढुक्क छन् । जनकपुरका कप्तान आसिफ शेखले प्रतियोगिताका अघिल्ला खेलभन्दा फरक खेल पस्किने बताएका छन् । टिमलाई फाइनल अघि धेरै ब्यालेन्समा ल्याएको बताए ।
‘सुदूरपश्चिमसँगको फाइनल खेल फरक हुनेछ । लिग चरणका खेल र अघिल्ला खेलहरुमा जित निकाल्न नसकेपनि प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्ने योजना छ,’ होटेल हायत प्लेसमा क्लिकमान्डुसँगको कुराकानीमा आशिफले भने ।
यता सुदूपश्चिमका कप्तान दिपेन्द्रले लिग चरणको खेल र क्वालिफायरको खेलमा जित निकाल्नुको अर्थ फाइनलमा जनकपुरलाई कमजोर आँक्नु नभएको बताएका छन् । उनले अघिल्लो खेलको नतिजालाई भुलेर कन्डिसन अनुसार खेल्ने बताए ।
‘हामी अहिले फाइनाल खेल खेल्दैछौं । प्रतियोगितामा अघिल्ला नतिजालाई भुलेर अघि जाँदैछौं । फाइनल खेलमा सुदूरपश्चिमको अघिल्लो खेलभन्दा राम्रो प्रदर्शन देख्न सकिनेछ,’ प्रिम्याच कन्फ्रेन्समा दिपेन्द्रले भने ।