एनपीएलः यी ४ मध्ये कुन नेपाली खेलाडीले हात पार्लान् ६२ लाख पर्ने ओमोडा कार?



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरेका थिए ।

क्यानले खेलाडीलाई दिने भनेको कारको विषयमा धेरैलाई चासो छ ।

प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने भनेपछि फ्यानहरुमा झनै चासो देखिएको हो । प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई–५ कार दिने छ ।

९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको व्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

नेपाली खेलाडीले पाउने यो कारमा २६३० एमएमको ह्वीलवेसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। नेपाली बजारमा पछिल्लो समय ईभी कारको बजार बढिरहँदा नेपाली खेलाडीले पनि मजा चाख्न पाउने छन् ।

ओमोडाको ई–५ मा ६ वटा एयरव्याग हुँदा ३६० डिग्री क्यामेरा, ब्रेक एसिस्ट, हिल होल्ड एसिस्ट, लेन चेन्ज एसिस्ट, ट्राफिक जाम एभोइडेन्स, अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् ।

यसमा फास्ट चार्जर (८० किलोवाट चार्जर) मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ । ११ किलोवाटले भने यो गाडी चार घण्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । ओमोडामा १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

ई–५ मा टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ । नेपाली बजारमा यसको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ।

को–को छन् हालसम्मका दावेदार ?

कार पाउने खेलाडीको टुंगो लाग्न फाइनल खेलसम्म कुर्नु पर्ने छ । फाइनल खेलमा दुई खेलाडीले कस्तो प्रदर्शन गर्नेछन् भन्ने हिसावले पनि कार जित्ने खेलाडीको अन्तिम टुङ्गो लाग्नेछ ।

नेपाली टोलीका स्पिनर ललित नारायण राजबंशी र दिपेन्द्र सिंह ऐरीको भोलि (शनिबार) हुने फाइनल खेलको नतिजाले तय गर्नेछ ।

नेपाली खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल छन् । उनले ब्याटिङ तथा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन् । रोहितले प्रतियोगितामा सात खेल खेल्दा २७९ रन बनाएका छन् । जसमा उनको २ अर्धशतक पनि छन् ।

प्रतियोगिताको एक खेलमा मात्र जित निकालेको टोलीले प्ले अफमा पनि स्थान बनाउ सकेन । रोहितले बलिङतर्फ ७ खेलबाट ७ विकेट लिएका छन् ।

कार जित्ने होडमा बलियो बनेका अर्का खेलाडी हुन् दिपेन्द्र सिंह ऐरी उनले प्रतियोगितामा १ अर्धशतकसहित २१८ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको सूचीको पाँचौं स्थानमा छन् ।

एक खेल खेल्न बाँकी रहँदा भोलिको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विकेट र रन बनाउन सके उनी कार जित्ने खेलाडीको बलियो दाबेदार पनि हुनेछन् । अझ सुदूरपश्चिमलाई उपाधि दिलाउन सके उनी कार पाउने मुख्य दाबेदार हुनेछन् ।

ललित पनि जनकपुरलाई फाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडी हुन् । उनले ९ खेलमा १६ विकेट लिएका छन् । उनले क्वालिफायर २ मा ३ विकेट लिएका थिए ।

ललितो हालसम्मको उत्कष्ट प्रदर्शन भनेको ३ विकेट लिएर ८ रन खर्चेनु हो । त्यस्तै कार पाउने खेलाडीको हकदारको चौथो स्थानमा चितवनका कुशल मल्ल छन् । उनले ८ खेलमा ९ विकेट लिएका छन् । उनले प्रतियोगिताको ८ खेलमा २२३ रन बनाएका छन् ।

शनिवारको फाइनल खेलमा दिपेन्द्रले उनीभन्दा कम रन बनाएको खण्डमा मल्ल कार जित्ने खेलाडीको दाबेदार बन्ने छन् ।


क्लिकमान्डु