८ अर्ब अमेरिकी डलर कुल पूँजी रहेको निसानको व्यापारमा ४७.६५ प्रतिशत नोक्सान भयो । झन्डै ३९ अर्ब डलर पुँजी रहेको होन्डाको बजार मूल्यमा ३१.३४ प्रतिशतले घाटा भयो ।
एजेन्सी । होन्डा र निसानले मर्जरको तयारी गरेका छन् । आर्थिक रुपमा कठिन समय सामना गरिरहेका जापानका दुई अटोमेकिङ कम्पनीहरुले मर्जरका लागि छलफल गरिरहेका छन् ।
दुई कम्पनीहरुले विज्ञप्ति जारी गर्दै आफूहरुले मर्जरलाई लिएर छलफल गरिरहेको जनाएका छन् । तर उनीहरुले मर्जरी कसरी हुन्छ वा कहिलेसम्म हुन्छ भनेर विस्तृतमा उल्लेख गरेका छैनन् ।
साथै दुई कम्पनीको संयुक्त रुप आकारमा हुनेछ भनेर पनि सार्वजनिक गरिएको छैन । यसबारे जापानको लोकप्रिय सञ्चारमाध्यम निकेइले गत मंगलबार पहिलो पटक यी दुई कम्पनीहरु मिल्दै गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
‘गत मार्चमा घोषणा गरेअनुसार होन्डा र निसानले एकअर्काको शक्तिका आधारमा भविष्यमा सहकार्य गर्नसक्ने विविध सम्भावनाको खोजी गरिरहेका छन्,’ मंगलबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । र यदि नयाँ अपडेट भएको खण्डमा उचित समयमा आफ्ना सरोकारवालाहरुलाई जानकारी दिने पनि उनीहरुको विज्ञप्तिमा छ ।
सीएनएनमा प्रकाशित समाचार अनुसार होन्डा र निसानका अधिकारीहरुले मित्सुबिसी पनि मर्जरसम्बन्धी प्रारम्भिक चरणको छलफलको एक हिस्सा भएको बताएका छन् । यद्यपि मित्सुबिसीले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । जवकि मित्सुबिसी जापानको तेस्रो प्रमुख कार निर्माता कम्पनीको रुपमा चिनिन्छ ।
गत मार्चमा होन्डा र निसानले विद्युतीय सवारीका लागि सहकार्य गर्ने घोषणा गरेका थिए भने अगस्टमा ब्याट्री प्रविधिका लागि सहकार्य गर्ने बताएका थिए ।
होन्डा र निसान दुबै कम्पनीले यस वर्ष व्यापारको क्षेत्रमा धेरै चुनौती सामना गर्दैआएको बताइन्छ । सम्भावित सहकार्यले भने उनीहरुलाई नयाँ र सहज निकास दिने अपेक्षा गरिएको छ । पछिल्लो समय यी दुई कम्पनीले गैरचिनियाँ अन्य कार निर्माता कम्पनीहरुले जस्तै चिनियाँ बजारमा व्यापारका लागि संघर्ष गर्नुपरेको छ । जवकि चीन सबैभन्दा ठूलो बजार मानिन्छ ।
चीन सरकारले भने ग्राहकलाई विद्युतीय सवारी साधन र प्लग इन हाइब्रिड प्रविधि अपनाउनका लागि प्रोत्साहन गर्दै विभिन्न कम्पनीहरुलाई विभिन्न किसिमका सहुलियत दिँदै आएको छ ।
होन्डा र निसान दुबैले ईभी र प्लग इन प्रविधिमा राम्रो उत्पादन गरिरहे पनि चिनियाँ कम्पनी बीवाईडीलाई उछिन्न मुस्किल देखिएको छ । बीवाईडीले ती प्रविधि अवलम्वन गर्दै सस्ता गाडीहरु उत्पादन गर्दै बजारमा आफ्नो प्रभाव जमाइरहेको छ ।
निसानले भने सीईओ कार्लोस घोस जापानबाट भागेर आफ्नो मूल राष्ट्र लेबनान गएपछि थुप्रै चुनौतीको सामना गरिरहेको छ । घोस वित्तीय अनियमितताको आरोपमा २०१८ मा टोकियोमा पक्राउ परेका थिए । त्यसपछि निसानले उनलाई पदमुक्त गरिदिएको हो । जवकि घोसले आफूमाथिको आरोप इन्कार गर्दैआएका छन् ।
सीईओ घोस पक्राउ परेपछि निसानका कतिपय लगानीकर्ताले पनि हात झिकेका थिए । फलस्वरुप मार्च र अप्रिलको बीचमा निसानको आम्दानी अघिल्लो वर्षको तुलनामा ९० प्रतिशतले गिरावट आएको थियो । डिसेम्बरको तेस्रो सातासम्मको तथ्यांक अनुसार निसानको कुल पूँजी ८ अर्ब अमेरिकी डलर रहेको छ । तर एक वर्षको अवधिमा यसरी नोक्सान भयो कि ४७.६५ प्रतिशतका दरले बजार मूल्यमा गिरावट आएको छ ।
यसैगरी निसानभन्दा पाँच गुणा ठूलो रहेको होन्डाले पनि थुप्रै चुनौती सामना गरिरहेको छ । होन्डाले भने चुनौतीका बीच २०४० सम्ममा शून्य उत्सर्जन सवारीहरु मात्रै विक्री गर्ने योजना पनि घोषणा गरेको थियो । तुलनात्मक रुपमा ग्यासको मूल्य, चार्जिङ पूर्वाधारको कमी र बढ्दो प्रतिस्पर्धाका कारण होन्ड कम्पनीले गहिरो संक्रमण झेल्नु परेको बताइन्छ ।
यस वर्षको डिसेम्बर तेस्रो साताको तथ्यांक हेर्दा होन्डाको कुल पुँजी ३८ अर्ब ७७ करोड रहेको छ । जवकि एक वर्षको अवधिमा ३१.३४ प्रतिशतका दरले यसको बजार मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया