मुस्लिम देशहरुको गठबन्धन ‘डी-८’ का आर्थिक एजेन्डा कस्ता छन्?


एजेन्सी । ८ वटा प्रमुख विकासशील मुस्लिम वाहुल्य देशहरुको एउटा समूह छ । जसलाई ‘डी-८’ संगठनको रुपमा चिनिन्छ । झट्ट सुन्दा ‘जी-८’जस्तै सुनिने भएकाले जी-८ को मुख्य प्रतिस्पर्धी संगठन हो कि जस्तो पनि लाग्न सक्छ ।

तर यसको संरचना र उद्देश्यबारे धेरैलाई जानकारी नहोला । जुन यहाँ चर्चा गरिएको छ । यसै साता मिश्रमा डी-८ आर्थिक शिखर सम्मेलन भइरहेको छ । जहाँ सदस्यराष्ट्रको रुपमा बंगलादेश, पाकिस्तान, टर्की, मिश्र, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया सहभागी छन् ।

यसरी हेर्दा यी ८ वटा विकासशील देशहरुको साझा पहिचान के छ भने यी सबै मुस्लिम बाहुल्य राष्ट्र हुन् । दक्षिण पूर्व एसियादेखि अफ्रिकासम्म फैलिएका देशहरुबीच आर्थिक सहयोगलाई प्रभावकारी बनाउनका लागि १९९७ मा यो संगठनको स्थापना गरिएको थियो । यस वर्षको डी-८ शिखर सम्मेलनको आयोजना भने मिश्रले गरिरहेको छ ।

शिखर सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियान पनि सहभागी भएका छन् । राष्ट्रपति मसुदको यो यात्रालाई किन पनि महत्त्वका साथ हेरिएको छ भने इरानको कुनै राष्ट्रपति यसरी मिश्रको भ्रमण गरेको एक दशकको अवधिमा पहिलो पटक हो ।

इरान र मिश्र निकट
मिश्र र इरानबीच सम्बन्ध पछिल्ला दशकहरुमा निकै तनाबपूर्ण रहँदैआएको छ । तर गत वर्ष गाजा क्षेत्रमा युद्ध चर्किएपछि यी दुई देशले उच्चस्तरीय सम्बन्ध स्थापित गरेका छन् । मिश्रले उक्त संघर्षमा मध्यस्तताको भूमिका निभाएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले मिश्रका अधिकारीहरुसँग क्षेत्रीय मुद्दामाथि बहस गर्न गत अक्टोबरमा मिश्रको यात्रा गरेका थिए । जवकि मिश्रमा उनका समकक्षी बद्र अब्देलती जुलाइ महिनामा राष्ट्रपति पेजेस्कियानको शपथग्रहण समारोहमा भाग लिन इरान पुगेका थिए ।

र मिश्रमा भइरहेको डी-८ शिखर सम्मेलनमा पनि इरानका राष्ट्रपति नै सहभागी भएका छन् । यस यात्रालाई दुई देशबीच बिग्रेको सम्बन्ध स्थापित गर्ने अवसरको रुपमा पनि हेरिएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघइका अनुसार इरानले शिखर सम्मेलन बाहेक पनि सहभागी देशहरुसँग क्षेत्रीय र द्विपक्षीय मामिलामा कुराकानी गर्ने छ ।

र यो शिखर सम्मेलनमा प्यालेस्टाइदेखि लेबननसम्मका मुद्दा उठाउन सकिने बुझिएको छ । साथै सिरियामा बसर अल असदको सत्ताच्युतपछि त्यहाँ उत्पन्न भएको परिस्थितिबारे पनि बहस र चर्चा हुने अपेक्षा गरिएको छ ।

डी-८ देशहरुको प्रमुख एजेन्डा के छ

डी ८ संगठन सदस्य राष्ट्रहरुबीच केही मुद्दाहरु प्रमुख रुपमा उठिरहेका छन् । जस्तो कि ग्रामीण विकास, वित्तीय बैंकिङ, विज्ञान र प्रविधि जस्ता विषयमा आर्थिक सहायता आउने गरेको छ । यो समूहको पहिलो शिखर सम्मेलनको आयोजना १९९७ मा टर्कीमा भएको थियो ।

जवकि यो मुस्लिम देशहरुको संगठन हो । तर यस संगठनमा साउदी अरब, कुवेत र कतार जस्ता देशहरु भने सहभागी छैनन् । बंगलादेश, पाकिस्तान, टर्की, मिश्र, इन्डोनेसिया, इरान, मलेसिया र नाइजेरिया जस्ता देशहरु यो संगठनमा आबद्ध छन् । र यी देशहरुको कुल जनसंख्या करिब सवा अर्ब रहेको छ ।

पहिलो शिखर सम्मेलन घोषणापत्र इस्तानबुलका अनुसार आर्थिक सहयोगका लागि डी-८ संगठनको मुख्य उद्देश्य सामाजिक तथा आर्थिक विकास नै हो । यसवाहेक शान्ति, संवाद, समानता, सहयोग र लोकतन्त्र पनि यो संगठनका मुख्य एजेन्डा नै हुन् । आगामी वर्षको डी-८ को अध्यक्षता भने इन्डोनेसियाले गर्ने बताइएको छ ।

पछिल्लो समय आर्थिक सहायता तथा अर्थराजनीतिक एजेन्डा तय गर्न जी-८, जी-२०, ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय गठबन्धनहरु सक्रिय भइरहँदा मुस्लिम देशहरुको संगठन डी-८ गठबन्धन पनि सक्रिय हुन थालेको छ ।

Skip This