वानुअटुमा शक्तिशाली भूकम्प: उद्धार जारी



एजेन्सी । वानुअटुको राजधानी पोर्ट भिलामा मंगलबार दिउँसो ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण पहिरो गएका छन्, गाडीहरु च्यापिएका छन् र धेरै भवनहरू भत्किएको बीबीसीको समाचारमा जनाइएको छ ।

राजधानीस्थित एउटा परिसर, जहाँ विभिन्न पश्चिमा दूतावासहरू अवस्थित छन्, पनि भूकम्पबाट क्षतिग्रस्त भएको छ ।

देशभर बिजुली र मोबाइल सञ्जाल अवरुद्ध हुँदा क्षतिको पूर्ण विवरण अझै नआएको भए पनि एक जनाको मृत्यु भएको जनाइएको छ ।

पोर्ट भिलामा बसोबास गर्दै आएका पत्रकार ड्यान म्याकेगारीका अनुसार यो भूकम्प ‘विगत २० वर्षभन्दा ठूलो’ जस्तो महसुस भएको थियो । उनले अस्पताल बाहिर गम्भीर घाइते व्यक्तिहरू देखेको बताएका छन् ।

वानुअटुमा आपतकालीन सेवाको सीमित स्रोत रहेको भन्दै उनले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

अर्का प्रत्यक्षदर्शी माइकल थोम्पसनले भत्किएका भवनहरूबाट जीवित मानिसहरूको उद्धार जारी रहेको बताएका छन् । उनले सडकमा शवहरू देखेको बताएका छन् ।

पोर्ट भिलाका धेरै घरहरूमा ठूलो क्षति पुगेको छ । माइकल थोम्पसनकी श्रीमती अमाण्डाका अनुसार “यो भन्दा पहिलेका भूकम्पहरू जस्तो अनुभव भएको थिएन।” उनको घरका झ्यालका सिसा फुटेका छन् भने भित्ताहरूमा ठूलाठूला चिराहरू परेका छन्।

भूकम्पबाट अमेरिकन दूतावास, बेलायती उच्च आयोग, फ्रान्सेली दूतावास र न्युजिल्यान्डको उच्च आयोग रहेका भवन पनि क्षतिग्रस्त भएका छन् । अमेरिकी अधिकारीहरूले सबै कर्मचारीहरू सुरक्षित रूपमा बाहिर निकालिएको र दूतावास बन्द गरिएको बताएका छन् ।

भूकम्पपछि चारवटा परकम्प (४.७ देखि ५.५ म्याग्निच्युडसम्म) महशुस गरिएको छ । यसैबीच, अस्ट्रेलियाली विमान सेवा जेटस्टारले सिड्नीबाट पोर्ट भिलाका लागि तय गरिएको उडान रद्द गरेको छ ।

छिमेकी देशहरू अस्ट्रेलिया र न्युजिल्यान्डले वानुअटुको स्थिति नजिकबाट हेरेको बताएका छन्। अस्ट्रेलियाले “वानुअटु हाम्रो परिवार हो” भन्दै सहयोगका लागि तयार रहेको जनाएको छ ।

वानुअटु प्रशान्त महासागरमा ८० टापुहरूको समूह हो । यो भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार ठूलो भूकम्प र प्राकृतिक प्रकोपहरू आउँछन् ।


क्लिकमान्डु