ललितपुरमा सवारी चापअनुसार आफैं हरियो बत्ति बल्ने एआई ट्राफिक लाइट, ३०-५० सेकेन्ड मात्र गाडी रोकिने



काठमाडौं । ललितपुर महानगरपालिकाले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित ट्राफिक लाइटको प्रयोग सुरु गरेको छ ।

सोमबारबाट पुल्चोकलगायत प्रमुख चोकहरूमा ट्राफिक प्रहरीले म्यानुअल रूपमा गाडी रोकेर वा चलाएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने आवश्यकता पर्ने छैन ।

महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि ट्राफिक लाइटको उद्घाटन गर्दै यसको औपचारिक सुरुवात गरे । ललितपुरका प्रमुख सवारी चाप हुने पाँच स्थानमा पहिलो चरणमा यस्ता लाइट जडान गरिएको छ । पुल्चोकमा दुई, कानदेवता, दमकल चोक र जावलाखेलमा एक-एक गरी पाँचवटा स्थानमा यो प्रणाली लागू गरिएको छ ।

नयाँ ट्राफिक लाइटले सवारीसाधनको चापअनुसार निर्णय लिन्छ । सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनका अनुसार, ‘ट्राफिक लाइटमा जडित भेइकल डिटेक्टरले सडकमा कति सवारीसाधन छन् भन्ने तत्काल रिड गर्छ र त्यसअनुसार सिस्टमले हरियो बत्ती बल्ने समय निर्धारण गर्छ।’

यस प्रणालीले धेरै सवारी चाप भएको दिशामा प्राथमिकता दिँदै हरियो बत्ती बाल्नेछ । कार्यालय समयमा पनि चालकहरूलाई अधिकतम ३०–५० सेकेन्ड मात्रै प्रतीक्षा गर्नुपर्ने अपेक्षा गरिएको छ। यसका लागि लाइटसँगै राखिएको ‘भेइकल डिटेक्टर मेसिन’ले सडकमा रहेका सवारी साधनको संख्या तत्काल मापन गरेर ट्राफिक लाइटलाई जानकारी गराउँछ ।

यो सिस्टमले पाँच वर्षसम्मका सवारीसाधनको डेटा र दुर्घटनासम्बन्धी रेकर्ड सुरक्षित राख्न सक्ने बताइएको छ । हरियो र रातो बत्तीको समयावधि सवारी चापअनुसार स्वचालित रूपमा समायोजन हुन्छ।

यस्तो प्रविधिमा आधारित यो नेपालमै पहिलो ट्राफिक लाइट हो ।


क्लिकमान्डु