विराटनगर महानगरको रोजगार मेलाः ३ सय भन्दा बढीले रोजगारी पाउने, स्टाफ नर्सको माग बढी



विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ । विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्न मेला आयोजना गरिएको मेयर कोइरालाको भनाई छ ।

महानगरले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाई थियो ।

दुईदिने मेलाबाट ३ सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने कोइरालाको दाबी छ । २०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवा रोजगार भएका थिए । कोइरालाले भने, ‘यस वर्ष ३ सय जनाभन्दा बढी बेरोजगार युवाले रोजगार प्राप्त गर्ने महानगरको अनुमान छ ।’

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवालाई एउटै थलोमा राखेर महानगरले पुलको काम गरेको बताइन । महानगरपालिकाले हरेक वर्ष रोजगार मेला आयोजना गर्ने गरेको छ । उनले भनिन्, ‘बेरोजगारलाई रोजगारी सिर्जना गर्न, बेरोजगार र रोजगारदाताको बीचमा सम्बन्ध स्थापित गर्नका लागि पनि यो मेलाको महत्त्व छ ।’

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट कामदारहरू ल्याउनुपर्ने बाध्यता विद्यामान रहेको उल्लेख गर्दै अहिले पनि बजारमा दक्ष जनशक्तिको अभाव रहेको बताए । सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगमा प्राविधिक जनशक्तिको अभावमा विदेशी जनशक्तिको भरथेग रहेको सुरानाको भनाई थियो ।

विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला लगायतले घरेलु तथा साना उद्योगमा युवा तथा किशोरीहरूले रोजगार प्राप्त गर्दै आएको बताए । ३० वटा स्टल रहेको रोजगार मेलामा आफ्नो दक्षता र सीपको आधारमा रोजगारदाताले युवा जनशक्तिसँग परामर्श गर्नेछन् ।

सबैभन्दा बढी स्टाफ नर्सको माग
मेलामा सबैभन्दा बढी स्टाफ नर्सको माग आएको महानगरको रोजगार शाखाका कपिल थापाले जानकारी दिए । नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट १ सयभन्दा बढी स्टाफ नर्सको माग आएको थापाले बताए । उनका अनुसार स्टाप नर्सपछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।

स्टल राखेका सबै रोजगारदाताबाट ४ सयभन्दा बढीको माग आएको छ । त्यस्तै २ हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । गत वर्षको मेलामा ३२ वटा स्टल समावेश गरिदा ३ हजार २ सयले मेलाको प्रत्यक्ष अवलोकन गर्दै १९७ जनाले रोजगार पाएका थिए । यस वर्षको मेलामा ५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको थापाले बताए ।


क्लिकमान्डु