अशोक शेरचनले बैंकर्स संघ अध्यक्षको दाबी छाड्ने, यसरी जुट्यो सहमति



काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा सहमति जुटेको छ । अध्यक्षमा दुईजनाले उम्मेद्वारी दिएपछि सहमति जुटाउन सोमबार छलफल भएको थियो ।

संघको अध्यक्षका लागि अहिलेका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला र प्रभु बैंकका सीईओ अशोक शेरचनले उम्मेदवारी दिएपछि सहमतिको प्रयास गरिएको हो ।

नेपाल बैंकर संघका पूर्वअध्यक्ष अशोक राणा र ज्ञानेन्द्र ढुंगाना, वर्तमान अध्यक्ष सुनिल केसी तथा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबीच सोमबार भएको छलफलमा प्रभु बैंकका सीईओ अशोक शेरचन उम्मेदवारी छाड्न तयार भएका हुन् ।

संघको अध्यक्ष पदका लागि १३ वर्षपछि दुईजनाको उम्मेदवारी परेको हो । विधानले अध्यक्षको चयन निर्वाचन प्रक्रियाबाट हुने भने पनि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने गरेका थिए । जसअनुसार सन्तोष कोइराला भावी अध्यक्ष चयन हुने थिए । तर, मनोनयन दर्ताका क्रममा प्रभु बैंकका सीईओ शेरचनले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । यही प्रचलनलाई कायम गर्नु पर्ने सम्बन्धमा पूर्वअध्यक्षहरुको प्रस्तावमा शेरचन सहमत हुँदै उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् ।

आजको छलफलपछि शेरचन पछि हट्ने भएसँगै बैंकर्स संघको नयाँ नेतृत्व पनि सहमतिबाटै चयन हुने भएको हो ।

संघको ३८औं साधारण सभा पुस ३ गते बोलाइएको छ । उक्त साधारणसभाबाट आगामी नेतृत्व चयन हुनेछ ।

शशिन जोशी र अशोक राणाबीच चुनाव भएयता संघमा सहमतिमै उपाध्यक्षलाई अध्यक्ष बनाइँदै आएको थियो । सहमतिमै राजनसिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, भुवन दहाल, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन्।


क्लिकमान्डु