हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्न



काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह होटेल याक एन्ड यतीमा सम्पन्न भएको छ ।

दीक्षित हुनु हरेक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण क्षण हो । यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्यायको सुरुवातको सन्देश दिन्छ ।

यसले विद्यार्थीहरूलाई अभिभावक, संरक्षक, शिक्षक र साथीहरूको सहयोगको महत्त्व स्मरण गराउँदै, कलेजमा बिताएका अमूल्य क्षणहरूको सम्झना दिलाउने अवसर प्रदान गर्छ ।

यस वर्ष, कलेजबाट कूल ६२१ विद्यार्थीहरू दीक्षित हुँदै आएका छन् । जसमा ४२८ स्नातक डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् ।

वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।

यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनस) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिनेछन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगार पाइरहेको बताए ।

उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे ।

समारोहमा, हेराल्ड कलेज काठमाडौंको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका एन्जेला स्पेन्सले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौँका सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।


क्लिकमान्डु