स्ट्यान्डर्ड चार्टर्ड बैंकमा पहिलोपल्ट नेपाली सीईओ, गोरख राणाले सम्हाल्दै नेतृत्व



काठमाडौं । गोरख राणा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । नेपालको बैंकिङ क्षेत्रमा १९८७ देखि सेवा प्रदान गर्दै आएको बैंकले स्थापनाकाल यता पहिलोपल्ट नेपालीलाई नेतृत्व सुम्पेको हो ।

बैंक स्थापना भएयता विदेशी नागरिकलाई मात्र यो पदमा नियुक्त गर्दै आएकामा राणाको नियुक्तिले यो परम्परामा अन्त्य गर्दै बैंक र नेपालको बैंकिङ क्षेत्रका लागि नयाँ अध्याय सुरु पनि गरेको छ ।

राणा सन् २०२२ जनवरी १ मा बैंकको डेपुटी सीईओ नियुक्त भएका थिए। उनले १९९४ मा बैंककै रिटेल र प्राइभेट बैंकिङ विभागबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । १९९६ मा कर्पोरेट तथा इन्स्टिच्युसनल बैंकिङमा प्रवेश गरेका थिए । आफ्नो ३० वर्षे बैंकिङ यात्रामा उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज, तथा ग्लोबल र कमर्सियल बैंकिङ विभाग प्रमुख जस्ता जिम्मेवारी सम्हालिसकेका छन् ।

राणाले वर्तमान सीईओ अनिर्वाण घोष दस्तीदारको कार्यकाल समाप्तिपछि अर्थात २०२५ जनवरीदेखि औपचारिक रूपमा पदभार ग्रहण गर्नेछन् ।

स्ट्यान्डर्ड चार्टर्ड समूहको दुईतिहाई भन्दा बढी सेयर रहेको बैंकमा बाँकी २९.७९% सेयर नेपाली सर्वसाधारणको छ । बैंकले पहिलोपल्ट आफ्नो उच्च व्यवस्थापनमा रहेका नेपालीलाई सीईओमा विश्वास गरेको हो ।


क्लिकमान्डु