आज महासंघको विशेष साधारणसभा, हट्ला त वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विशेष साधारणसभा आज बस्दैछ । महासंघले विधान संशोधन गर्ने प्रस्तावसहित डाकेको साधारणसभा आज रामवाघ महल, भनिमण्डल, ललितपुरमा बस्न लागेको हो ।

२०८१ असार २४ गते बसेको नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको थियो । सोहीअनुसार आजका लागि विशेष साधारणसभा बोलाइएको हो ।

कार्यसमितिको निर्णयअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पछिका एक वरिठ उपाध्यक्ष स्वतः अध्यक्ष बनेपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधन हुनेछ ।

महासंघमा वर्षौंदेखि गिजोलिएको विधान संशोधनको एजेण्डा बल्ला अघि सरेको हो ।

कार्यसमितिबाट सर्वसम्मतीमै अघि सरेकोबारे अध्यक्ष चन्द्र ढकालले भनेका थिए, ‘हामीले दफावार छलफल गरेर सबै साथीहरुको सहमतिमा विधान संशोधनको ठोस प्रस्तावसहितको एजेण्डा विशेष साधारणसभामा लैजाने निर्णय गरेका छौं । कार्यसमितमा सर्वसहमति भएकाले साधारणसभाबाट पारित हुनेमा हामी विश्वस्त छौं ।’

२०७३ सालमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधान संशोधन गरेको थियो । त्यही विधानअनुसार तत्कालीन वरिष्ठ उपाध्यक्ष भवानी राणा अध्यक्ष बनेकी थिइन् । त्यसयता विधान संशोधन हरेक अध्यक्षको एजेन्डा बन्दै आएको छ ।

महासंघको २०८० चैत २८ र २९ गतेक‍ो ५८ औं वार्षिक साधारणसभाले विधान संशोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।

यता अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधान हादका वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएलगत्तै कार्यान्वयन गर्नुपर्ने माग महासंघका एक समूहको छ । यसैगरी थप एकजना उपाध्यक्ष महिला सीधा निर्वाचनमा पतिस्पर्धा गर्न पाउनुपर्ने माग पनि जोडतोडका साथ उठेको छ ।

यदी स्थायी समिति र कार्यकारिणी समितिको निर्णयअनुसार महासंघको विधान संशोधन भए ७ वर्षपछिमात्र कार्यान्यन हुनेछ ।

उतिबेला महासंघको विधान संशोधन भएपछि भवानी राणा स्वतः अध्यक्ष बनेकी थिइन् । त्यसयता विधानको यही प्रावधान अनुसार शेखर गोल्छा र चन्द्र ढकाल अध्यक्ष बनिसकेका छन् भने अञ्जन श्रेष्ठ पनि यही व्यवस्थाअनुसार अध्यक्ष बन्दैछन् ।

वर्षौंदेखि गिजोलिएको र अघि सरेको विधान संशोधनको एजेन्डालाई तार्किक निष्कर्षमा पुर्याउन सकिएको थिएन । शेखर गोल्छा अध्यक्ष हुँदै तयार संशोधन प्रस्तावअनुसार ढकाल अध्यक्ष भएपछि पौने २ वर्षमा यो विषय टुंगो लाग्ने भएको हो ।

प्रस्तावित व्यवस्थाअनुसार अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ । यसैगरी महासंघमा २ जना वरिष्ठ उपाध्यक्ष रहनेछन् भने १२ जना केन्द्रीय सदस्य भए थप एक महिला उपाध्यक्ष चयन हुनेछन् ।


क्लिकमान्डु