टेलर स्विफ्ट: गीत गाएरै अर्बपति बनिन्, अमेरिकाकै अर्थतन्त्र चलायमान बनाइदिन्



एजेन्सी । विश्वप्रसिद्ध अमेरिकि गायिका टेलर स्विफ्टले ५१ सहरमा आफ्नो १५२ वटा कन्सर्ट (सांगीतिक यात्रा) यसै सप्ताहन्तमा सम्पन्न गरिन् ।

यो लामो कन्सर्ट यात्राले स्विफ्टलाई आर्थिक मनग्य आर्थिक लाभ भयो भनेर त भनिरहनुपर्ने कुरा हैन । रोचक के छ भने टेलर स्विफ्टको यो कन्सर्ट श्रृंखलाले विश्व अर्थतन्त्रलाई नै प्रभाव पारिदिएको छ ।

आइतबार राति भ्यानकुभरस्थित बीसी प्लस स्टेडियममा उनको फाइनल पफर्मेन्स ‘द एरास टुर’ थियो । जुन प्रस्तुती हालसम्मकै सर्वाधिक व्यापार गर्ने र आर्थिक आर्जन गर्ने सांगीतिक यात्राको रुपमा चिनिएको छ । जहाँ २ अर्ब २० करोड आम्दानी भएको थियो ।

अमेरिकी ट्राभल एसोसिएसनका अनुसार सुपर बलका औसत फुटबल दर्शकहरुले होटेल, यात्रा र खानाका लागि गर्ने जति नै यस इभेन्टका आगन्तुकहरुले खर्च गरेका थिए ।

जवकि सुपर बल २ सातासम्म विश्वव्यापी मार्केटिङ र प्रचारपछि आयोजना गरिएको एक इभेन्ट थियो भने स्विफ्टको सांगीतिक यात्रा २३ सहरमा ६२ रात भएको थियो । र स्विफ्टको द एरास टुर इभेन्टका आगन्तुकले औसत १ हजार ३ सय अमेरिकी डलर खर्च गरेको बताइएको छ ।

स्विफ्टले मात्रै अमेरिकामा ५ अर्ब खर्च गरिसकेकी छन् । तर यो सबै प्रत्यक्ष खर्च मात्रै थियो । तर अप्रत्यक्ष रुपमा गरिएको खर्च हेर्ने हो भने यसले १० अर्ब पनि नाघेको हुनसक्ने बताइन्छ । यसमा इभेन्टभन्दा बाहिर पनि छिटफुट खर्च भएका थिए ।

यसरी एकै जना गायकले अमेरिकासँगै विश्वकै अर्थतन्त्रलाई प्रभाव पारेको भन्दै स्विफ्टको चौतर्फी प्रसंसा भइरहेको छ । अर्थात् उनकै कारण अर्बौं डलर खर्च भइरहेको हुन्छ । विशेषगरी कोरोना महामारीका कारण सेलाएको अर्थतन्त्र टेलर स्विफ्टका कारण बौरिन थालेको भन्दै यसलाई ‘स्विफ्टनोमिक्स’ पनि भनिन्छ ।

यसबीचमा भइरहेको खर्चको शक्तिलाई टेलर स्विफ्ट इफेक्ट भन्दै अर्थशास्त्रीहरुले व्याख्या गर्दैआएका छन् । यसबीचमा स्विफ्टको कन्सर्टले उत्पन्न गरेको बजारमा होटेल व्यवसाय तथा हस्पिटालिटी क्षेत्र फस्टाउनुका साथै यसले मनग्य पैसालाई चलायमान बनाइदियो ।

स्विफ्टको कन्सर्टले गर्दा उच्च ट्राफिक जाम हुनुका साथै यात्रुहरुले अत्यधिक रुपमा खर्च गरेका हुन्छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार स्विफ्टका प्रसंशकहरुले सामान्यतया कन्सर्टको क्रममा आफ्नो बसाइ लम्बाउने गरेका छन् । जसले गर्दा कन्सर्ट हुने सहरको आयआर्जन नै बढ्ने गरेको छ।

विशेषगरी स्विफ्टको कन्सर्टले स्थानीय पर्यटन उद्योगलाई नै प्रभावित पारेको छ । पिट्सबर्गले आयोजना गरेका दुई कन्सर्टको क्रममा होटेलहरूमा महामारीपछिको सबैभन्दा धेरै सप्ताहन्तको कारोबार गरेको थियो । जुन पिट्सबर्गको इतिहासमै दोस्रो ठूलो कारोबार भएको सप्ताहन्त मानिएको थियो । स्विफ्टको टुरले औसतर दैनिक खर्चलाई बढाएर रुमको भाडा नै दैनिक ३०९ डलर पुर्‍याएको थियो । र उक्त सहरले नयाँ आगन्तुकहरुबाट ४ करोड ६० लाख प्रत्यक्ष कारोबार गरेको थियो ।

यस्तै स्विफ्टको ६ रातको कन्सर्टले लस एन्जल्समा मात्रै ३ हजार ३ सय रोजगार सिर्जना गरिदिएको थियो । साथै स्थानीय बजारमा १६ करोड डलरको कारोबार गरायो । जवकि एरास टुरभन्दा पहिले लस एन्जल्सको होटेल रोजगारी १५ प्रतिशत भन्दा कममै सीमित थियो ।

अमेरकी ट्राभल एसोसिएसनको आकलन अनुसार लस एन्जल्स काउन्टीमा मात्रै एरासका कारण ३२ करोड डलरले आम्दानी बढ्ने छ । जसमा २ करोड बिक्री र होटेल कोठाहरुबाट उठाइने स्थानीय कर मात्रै ९० लाख डलर रहेको एसोसिएसनले जनाएको छ ।

यसरी स्विफ्टका कन्सर्टले गर्दा होटेल व्यवसायसहित पर्यटन क्षेत्रसँगै अरु थुप्रै क्षेत्रमा आर्थिक गतिविधि बढेर सहरकै अर्थतन्त्रमा फाइदा पुग्ने बताइन्छ । जसले समग्र अर्थतन्त्रलाई नै चलायमान बनाइरहेको बताइन्छ ।

त्यसो त गीत गाएरै टेलर स्विफ्ट यस वर्ष फोर्ब्सको विश्वका डलर अर्बपतिहरुको सूचीमा पर्न सफल भएकी छन् । र यति छोटो अवधिमा गीत गाएर विश्वभर चर्चासँगै अर्बौं डलर कमाउने उनी एक्लो गायिका पनि हुन् ।


क्लिकमान्डु