‘बीआरआई फ्रेमवर्क सम्झौतामा उल्लेख भएका परियोजना अनुदानका आधारमा मात्र गर्नुपर्छ’

पोखरा एयरपोर्टबाट प्रतिफल नआउने भइसक्यो, यो खराब ऋणमा पर्‍यो



सोमबारको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) का विषयमा छलफल भयो ।

पार्टीको कार्यसम्पादन समितिले पहिला नै अनुदान स्वीकार गर्न तर ऋण स्वीकार नगर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआईमा ग्रान्ट फाइनान्सिङ नभएर एड फाइनान्सिङ आयो भन्ने सार्वजनिक रूपमा चर्चा भइरहेको छ, उक्त एड फाइनान्सिङमा ग्रान्ट फाइनान्सिङ स्वाभाविक रुपमा पर्छ ।

आगामी दिनमा बीआरआई फ्रेमवर्क सम्झौतामा उल्लेख भएका १० वटा सूचीका परियोजनामा सम्झौता हुन्छन् । ती सूचीमा रहेका परियोजनाहरूको सम्झौता गर्दा अनुदानका आधारमा मात्र सम्झौता गर्नुपर्छ भन्ने कांग्रेसको निष्कर्ष छ । जुन परियोजनामा चीन सरकारले अनुदान दिन तयार हुन्छ ती आयोजनाहरू अगाडि बढ्छन् । कांग्रेसको अहिले पनि भनाइ अनुदान सहयोग मात्र लिने, ऋण लिने होइन भन्ने नै छ ।

अनुदान मात्र लिने, ऋण नलिने विषय चीन सरकारको सवालमा मात्र होइन । आगामी दिनमा पनि सर्तहरूसहितको ऋण लिने भन्ने हुँदैन । सर्तसहित ऋण लिँदा देशलाई फाइदा हुँदैन । त्यो परियोजना कार्यान्वयन भएपछि त्यसबाट प्राप्त प्रतिफलबाट ऋण तिर्न सक्ने अवस्था बन्दैन ।

ऋण लिएर बनाइएको पोखरा एयरपोर्टको अत्यन्त नराम्रो अनुभव हामीलाई छ । त्यसको प्रतिफल नआउने भइसक्यो, यो खराब ऋणमा पर्‍यो । त्यस कारण चीन सरकार होस् वा अन्य मित्रराष्ट्रहरू हुन् जसले ऋण प्रस्ताव गर्छन्, उनीहरूबाट ऋण लिन सक्ने अवस्थामा नेपाल छैन ।

हाम्रो ऋणको बोझ यसै पनि धेरै छ । विश्व बैंक, एडीबी,अरू इन्फास्ट्र क्चर बैंकभन्दा चीनको कडा छ । त्यस्तो शर्तसहितको ऋण दिने प्रचलन छ, त्यो लिन हामी सक्दैनौँ भन्ने दृष्टिकोण राख्ने र अनुदान मात्र स्वीकार गर्ने हो । त्यो बाहेक प्राविधिक सहयोग, उद्योग व्यवसायमा लगानी गर्ने बाटो खुला छँदैछ । त्यसमा लगानी आयो भने रोजगारी बढ्छ । उहाँहरूले पनि आफ्नो लगानीको प्रतिफल, त्यहाँबाट उत्पादित सामाग्री र सेवा बिक्री गरेर फाइदा प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तो लगानीलाई प्रोत्साहन दिन सकिन्छ भन्ने कांग्रेसको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किएपछि बीआरआई अन्तर्गत अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ । त्यही कुरा चिनियाँ नेतृत्वलाई पनि प्रधानमन्त्री,परराष्ट्रमन्त्री र सम्बन्धित पदाधिकारीहरूले राख्नु भएको छ । नेपालले ऋण लिँदैन भन्ने चीन सरकारले पनि बुझिसकेको छ ।

सोही अनुसार धेरै अनुदान प्रतिबद्धता चीन सरकारबाट भएको र कार्यान्वयन पनि नभएको अवस्थामा चीन सरकारले घोषणा भएका अनुदानहरूलाई कार्यान्वयन गरेर सूचीमा रहेका परियोजनाहरूलाई अघि बढाउँछ र सरकारले पनि सोही अनुसार परियोजनाहरूमा सम्झौता गर्छ भन्ने हामीलाई पूरा विश्वास छ । चीन भ्रमणमा भएको बीआरआई लगायतका विषयमा भएका सहमतिहरु संसद् खुलेपछि राख्नुहुनेछ ।

हिजोको अनुदान सहयोग मात्र लिनुपर्छ ऋण होइन भन्ने निर्णयमा हामी कायम छौं । समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन । ग्राण्डको मुल मक्सदनै अनुदान सहयोग हो, ऋण त अपवाद मात्र हो । सरकारले पनि त्यही अनुसार परियोजना समझदारी गर्छ भन्ने हामीलाई विश्वास छ ।

अनुदान सहयोग लिने हिजोको पनि निर्णय थियो आज पनि कायम छौं । सरकारले चीन सरकारसँग बीआरआईमा जुन हस्ताक्षर गर्‍यो त्यसले अनुदान लिने कुरालाई निषेध होइन, अनुदानलाई नै महत्व दिएर शब्द प्रयोग भएको छ । अनुदान सहयोग नै लिने अरु लिन सक्दैनौं भनेर प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतले राखिसकेपछि यसमा द्विविधा नराखि अनुदान सहयोग कार्यान्वयन गर्ने हो ।

(सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रस प्रवक्ता डा प्रकाशशरणले व्यक्त गरेको विचार )


क्लिकमान्डु