आईएमईको वार्षिक आम्दानी ७८ करोड रुपैयाँ, प्रोफिट मार्जिन ४५ प्रतिशत
काठमाडौं । देशकै ठूलो रेमिट्यान्स कम्पनी आईएमईले १ वर्षमा साढे ७८ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले पछिल्लो ५ वर्षमै सबैभन्दा कम आम्दानी गरेको हो ।
सन् २०२४ मा आईएमईको नाफा मार्जिन ४४.९ प्रतिशत छ । सन् २०२४ को आम्दानी सन् २०२३ को भन्दा ३.२ प्रतिशत कम हो । आईएमईले गत वर्ष ८१ करोड रुपैयाँ आम्दानी गरेको थियो भने नाफा मार्जिन ३५ प्रतिशत थियो । एक वर्षको अवधिमा खर्च घटेर नाफाको मार्जिन बढेको भएपनि रेमिट्यान्सको कमिसन घट्दा आम्दानीमा कमी आएको हो ।
सन् २०२० मा ९३ करोड आम्दानी गरेको आईएमईको नाफा मार्जिन ३६ प्रतिशत, सन् २०२१ मा ७९ करोडको आम्दानी गरेकामा नाफा मार्जिन ४९ प्रतिशत र सन् २०२२ मा सर्वाधिक ९७ करोड आम्दानी गरेकामा नाफा मार्जिन पनि सर्वाधिक ५१ प्रतिशत थियो ।
नाफा मार्जिन भन्नाले कर, ब्याजदर र डिप्रिसिएसन अघिको सञ्चालन नाफा भन्ने बुझिन्छ ।
वार्षिक ७९ करोड आम्दानी गर्ने कम्पनीले बैंकबाट लिएको ऋण भने नगन्य छ ।
आईएमई देशका अर्बपति व्यवसायी चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालको बहुमत लगानी रहेको रेमिट्यान्स कम्पनी हो । जसका दाजु ढकालको ३३.३ प्रतिशत र भाइको पनि समान स्वामित्व छ । आईएमई ग्रुप अन्तर्गत रहेको यो कम्पनी सन् २००१ मा स्थापना भएको हो । त्यसयता सन् २०१४ मा आईएमई पब्लिक कम्पनी बनिसकेको छ ।
आईएमईको २० भन्दा बढी विदेशी मनि ट्रान्स्फर अपरेटरसँग सहकार्य छ । आईएमईमार्फत् विदेशबाट पठाएको रकम ३० हजारभन्दा बढी आन्तरिक एजेन्टबाट प्राप्त गर्न सकिन्छ । आईएमईले अर्को रेमिट्यान्स कम्पनी जीएमईलाई प्राप्ति गरी गत साउन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।
आम्दानी निरन्तर घट्न थालेको स्थितिमा जीएमईलाई गरेको प्राप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस्तै कम्पनीले आईएमई पे सञ्चालन गर्ने आईएमई डिजिटल सोलुसन्समा आईएमईको लगानीले पनि कम्पनीको आम्दानी बढाउने अपेक्षा छ ।
आम्दानीको निरन्तर घट्दो प्रवृत्तिले रेमिट्यान्स बिजनेसमा नयाँ प्रतिस्पर्धीको आगमन र बैंकिङ च्यानलको बढ्दो पहुँचका कारण कमिसनका दर घटेको देखाउँछ । साथै नेपाल राष्ट्र बैंकले घरेलु रेमिट्यान्स सेवामा लागू गरेका नियामक प्रतिबन्धले सन् २०२३ पछि आईएमईको आम्दानी घटाएको हो ।
यता पछिल्लो समय आईएमईको बजार हिस्सा निरन्तर खस्किएको छ । जुन चिन्ताको विषय हो । तथापि, प्रमुख आम्दानीको स्रोतको रूपमा रहेको रेमिट्यान्सको कमिसन आम्दानी घट्नु अर्को चिन्ताको विषय हो । जीएमईको प्राप्तिपछि आईएमईको बिजनेस कुन दरले बढ्नेछ भन्ने हेर्ने बाँकी विषय हो ।
यता आईएमईको आम्दानी विनिमय दरमा हुने लाभमा निर्भर छ । कम्पनीले विदेशी मुद्रा ह्यान्डल गर्ने भएकाले विनिमय दर बढ्दा कम्पनीको आम्दानी पनि बढ्छ । आईएमईको बिजनेस विदेशी मुद्रासम्बन्धि नियमनले निकै प्रभावि पार्दछ ।
आईएमईले बैंकबाट लिएको कर्जाको आकार समेत निकै कम भएका कारण कम्पनीको वित्तीय स्थिति सहज अवस्थामा छ ।
अनुभवी संस्थापक र व्यवस्थापन टिम, बलियो पुँजीकरण प्रोफाइल र स्वस्थकर मार्जिन तथा फस्टाउँदो रेमिट्यान्स क्षेत्र आईएमईको बिजनेस थप सबल हुने केही आधार हुन् । तर, आम्दानीमा निरन्तर गिरावट र घट्दो हिस्सा, मध्यमस्तरको लिक्विडिटी प्रोफाइल र नियामकीय जोखिम कम्पनीका लागि चुनौतीका विषय हुन् ।
देशमा ४ दर्जनभन्दा बढी रेमिट्यान्स कम्पनी छन् । सन् २०२३ देखि नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा प्रतिबन्ध लगाएपछि कम्पनीको आम्दानी निकै घटेको छ । सन् २०२२ मा कम्पनीको आम्दानीको २३ प्रतिशत हिस्सा आन्तरिक रेमिट्यान्सको शुल्क रहेको थियो । यता रेमिट्यान्समा आईएमईको बजार हिस्सा सन् २०२० को २४ प्रतिशतबाट सन् २०२४ मा १७ प्रतिशतमा झरेको छ ।
यस्तो स्थितिमा आईएमईले निकट भविष्यमै आईपीओ जारी गर्न लागेको छ । आईएमईले २०८० असार २९ गते आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले नेगेटिभ इम्प्लिकेसनसहितको ए रेटिङ इस्युअर पाएको छ ।