हाइब्रिड कारको नेपाली बजारमा सुजुकीको एकछत्र राज, टोयोटा दोस्रोमा
काठमाडौं । नेपाली बजारमा सबैभन्दा धेरै मारुती ब्राण्डको हाइब्रिड कार आयात हुने गरेको पाइएको छ ।
पछिल्लो साढे चार महिनाको आयात तथ्यांकलाई हेर्दा सुजुकी ब्राण्डका हाइब्रिड कारहरु ९३ प्रतिशत आयात भएका छन् । यो जुलाईदेखि मध्य नोभेम्बरसम्मको तथ्यांक हो ।
सुजुकीको ब्रेज्जा हाइब्रिड २४३ युनिट आयात भएको छ । ग्राण्ड भिटारा स्मार्ट हाइब्रिड १० युनिट र इरटिगा स्मार्ट हाइब्रिड १ युनिट आयात भएको छ । साढे ४ महिनामा कुल २७४ युनिट आयात भएकामध्ये मारुतीको २५४ युनिट छन् ।
मारुतीको नेपालका लागि आधिकारी बिक्रेता सिजी मोटोकर्प हो । यो कम्पनी नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको हो ।
नेपाली बजारमा आयात हुनेमध्ये दोस्रोमा टोयोटा छ । टोयोटाका ६ प्रतिशत बजार हिस्सा छ । र्याभ फोर १० युनिट आयात भएको छ । यारिस क्रस ४ युनिट र कोरोला क्रस २ युनिट आयात भएको छ । कुल टोयोटाका १६ युनिट कारहरु आयात भएका छन् । र्याभ फोर हाइब्रिडको १ करोड ९५ लाख रुपैयाँ पर्छ । र्याभ फोर एसयुभी कार हो ।
कोरोला क्रस हाइब्रिडको नेपाली बजारमा १ करोड ८१ लाख रुपैयाँ पर्छ । यो क्रस ओभर कार हो । यारिस क्रस हाइब्रिडको नेपाली बजारमा १ करोड २५ लाख रुपैयाँ पर्छ । यो ह्याचब्याक कार हो । टोयोटाको क्याब्रिहाइब्रिड कार पनि नेपाली बजारमा बिक्री भइरहेको दाबी गरिएको छ । यो सेडान कार हो ।
टोयोटा ब्राण्डका प्योर हाइब्रिड र प्लग इन हाइब्रिड कारहरु उत्पादन गर्छ । विश्व बजारमा टोयोटाका हाइब्रिड कारहरु लोकप्रिय छन् । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि हो ।
मित्सुबिसी ब्राण्डको आउट ल्याण्डर १ युनिट आयात भएको छ । मित्सुबिसी जापानी ब्राण्ड हो । मित्सुबिसीको नेपालका लागि आधिकारिक बिक्रेता लायन मोटर्स प्रालि हो ।
बिएमडब्ल्युको हाइब्रिड कार यो अवधिमा आयात नै भएको छैन् । सुबारु ब्राण्डको क्रसट्रेक २ युनिट आयात भएको छ । यो कुल आयातको १ प्रतिशत हो । यो कारको नेपाली बजारमा १ करोड ४० लाख रुपैयाँ पर्छ । यो एसयुभी कार हो । सुबारु ब्राण्डको नेपालका लागि विजय मोटर्सले आधिकारिक बिक्रेता हो ।
निशानको एक्स ट्रेल १ युनिट आयात भएको छ । निशानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प हो ।
हाइब्रिड कार के हो ?
हाइब्रिड कारहरु संसारभर न्यु इनर्जी भेहिकलका रुपमा फस्टाइरहेको छन् ।
हाइब्रिड गाडीमा दुई खालको प्रविधि भएको इन्जिन जोडिएको हुन्छ । यो डिजल वा पेट्रोलबाट चल्ने इन्टर्नल कस्बुचन इन्जिन र विद्युतीय ऊर्जा वा ब्याट्रीबाट पनि चल्न सक्छ । अर्थात यी गाडीहरुमा पेट्रोल वा डिजेलबाट चल्ने परम्परागत आइसीई इन्जिन र ब्याट्रीबाट चल्ने मोटर हुन्छ ।
अन्य पेट्रोलियम गाडीको तुलनामा ३० प्रतिशत कम इन्धन खपत गर्छ । भने पेट्रोलियम गाडी तुलनामा कम प्रदुषण उत्पादन गर्छ । इलेक्ट्रिक मोटरको प्रयोगले ध्वनी प्रदुषण समेत कम हुन्छ ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा सकिएपछि पेट्रोलियम पदार्थ भर्नुपर्छ । ब्याट्रीबाट चल्ने कारमा चार्ज सकिएपछि चार्ज गर्नुपर्छ । तर हाइब्रिड कारमा इन्धन सकिएपछि केहि समय ब्याट्रीमा रहेको चार्जबाट सञ्चालन गर्न सकिन्छ । पछिल्लो समय प्लग इन हाइब्रिड कार समेत चर्चामा छ । यो एक प्रकारको हाइब्रिड कार हो । जसमा ठूलो रिचार्जयबल ब्याट्री हुन्छ । जसले अन्य हाइब्रिडभन्दा पेट्रोलियम पदार्थको खपत कम गर्छ । तर यो अन्य हाइब्रिड कारभन्दा महँगो हुन्छ । इन्धन र विद्युत दुवैको संयोजनले दक्षता बढाउँछ ।
हाईब्रिड कारहरु समान्य कारको तुलनामा महँगा हुन्छन् । मर्मत, सम्भार महँगो पर्छ । ब्याट्री फेर्नुपर्दा महँगो पर्छ ।