सहकारी बैंकका अध्यक्ष थुनामा, सञ्चालक फरार: रिक्त पदपूर्तिका विषयमा अलमल



काठमाडौं । सहकारी बैंकको वार्षिक साधारण सभा नजिकिँदै गर्दा रिक्त पदमा निर्वाचन गर्ने वा नगर्ने विषयमा चर्चा सुरु भएको छ । बैंकमा हाल दुई पदका तीन स्थान खाली रहेका छन् ।

बैंकका अध्यक्ष केबी उप्रेती सहकारी बचत रकम अपचलन प्रकरणमा पुर्पक्षका लागि प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अध्यक्ष उप्रेती, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका बचतकर्ताको बचत अपचलन अभियोगमा हिरासतमा रहेका हुन्। अर्का सञ्चालक मनोज कुमार थापा मगर (तत्कालीन तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष) करिब ६ महिनादेखि सहकारी ठगी प्रकरणमा फरार छन् ।

त्यस्तै, बैंकका अर्का सञ्चालक माधव देवकोटाको २०८० मंसिर ४ गते रुपन्देहीमा सवारी दुर्घटनामा निधन भएको छ । बैंकमा एमाले, कांग्रेस, माओवादीका प्रतिनिधिहरू सञ्चालक रहेका छन् । थापा माओवादी, देवकोटा कांग्रेस र उप्रेती एमालेका हुन् ।

बैंकका अध्यक्षसहित केही सञ्चालक नहुँदा आगामी साधारण सभामा रिक्त पदमा परिपूर्ति हुनुपर्ने कतिपयको माग रहेको छ । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रिक्त पदपूर्तिको विषयमा कुनै निर्णय गरेको छैन । कतिपयले रिक्त पद पूर्ति गर्नुपर्ने माग गरेका छन् ।

बैंकका सञ्चालक रामहरी बजगाईंले अध्यक्ष केबी उप्रेती हाल पुर्पक्षका लागि हिरासतमा रहेको र दोषी ठहर नभएसम्म विकल्प खोज्न नसकिने बताएका छन् । साथै, रिक्त पदमा के गर्ने भन्ने विषयमा सहकारीको विनियमावली र राष्ट्र बैंकको निर्देशनमा केही स्पष्ट व्यवस्था नभेटिएको बताएका छन् ।

तर, सहकारी बैंकको विनियमावलीमा नै सञ्चालक समिति सदस्य बिना जानकारी लगातार तीनवटा बैठकमा अनुपस्थित भएमा उक्त व्यक्तिको पद स्वतः रद्द हुने व्यवस्था रहेको छ । अध्यक्ष उप्रेती र सञ्चालक थापा मगर विगत ६ महिनादेखि सम्पर्कमा छैनन् । अध्यक्ष पुर्पक्षका लागि हिरासतमा भए पनि थापा मगर भने औपचारिक रूपमा सम्पर्कमा छैनन् ।

यसअघि कात्तिक २४ गते साधारण सभाको बैठक तोक्दा नै यो विषय प्रस्ट हुनुपर्नेमा त्यसो हुन नसकेको गुनासो बैंकमा संलग्न अन्य व्यक्तिहरूको पनि छ ।

सञ्चालकको कार्यकाल ४ वर्षको हुने गरेकोमा नयाँ कार्यसमिति आएको दुई वर्ष भएको छ । कार्यकाल अझै दुई वर्ष बाँकी रहँदा रिक्त पद राख्न नहुने बैंकका सदस्यहरूको भनाइ छ । आगामी सभाले बैंकले बनाएको विनियमावली पालना गरी रिक्त पदमा निर्वाचन गर्नुपर्ने धेरैको सुझाव छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष चन्द्र ढकालले सबैले ऐन, कानूनमा भएका व्यवस्था पालना गर्नुपर्ने बताए ।

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले बैंकले बनाएको र संस्थाको साधारण सभाले पारित गरेको विनियमावली अनुसार सभा सञ्चालन हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘विनियमावली कार्यान्वयन गर्नैपर्छ । यदि कानूनअनुसार भएन भन्ने गुनासो आयो भने नियमन निकायले भूमिका खेल्नेछ,’ उनले भने ।


क्लिकमान्डु