प्रधानमन्त्री चीन भ्रमणमा जाँदा विमानस्थल बन्द, हिमालयन एयरलाइन्सकाे जहाज दाेस्रो पटक प्रयोग




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ ।

प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । यस अघि पनि चीन पहिलाे पटक प्रधानमन्त्री हुँदा समेत ओली चीन भ्रमण गएका थिए । त्यतिबेला पनि हिमालय एयरलाइन्सकै जहाज प्रयाेग गरेका थिए ।

प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

‘राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार प्रधानमन्त्रीको जहाज उड्नुअघि २५ मिनेट र उडेपछि ५ मिनेट अरू जहाज रोकिन्छ ।

यसका लागि सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नोटिस फर एयरमेन (नोटाम) जारी गरिसकिएको छ।

नोटाम अनुसार अहिले बिहान १०:३५ बजेबाट ११ :०५ बजेसम्म अरू वायुसेवा कुनैको पनि उडान /अवतरण हुँदैन । प्रधानमन्त्री ओलीको जहाज ११ बजे उडेको ५ मिनेटपछि मात्र अन्य वायुसेवाको नियमित उडान हुनेछ ।

नोटाम अनुसार सबै वायुसेवाले आफ्ना उडान तालिका मिलाइसकेको छ। यसबाट धेरै उडान प्रभावित नहुने र भीभीआइपीकाे उडानमा नोटाम लाग्नु सामान्य प्रक्रिया भएकाे पनि प्राधिकरणले उल्लेख गरेको छ ।


क्लिकमान्डु