६ घण्टा लामो बयानपछि रविलाई फेरि हिरासतमा लगियो, बाहिर भेला भएका कार्यकर्ताले भेउ पाएनन्
काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा रास्वपाका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई शुक्रबार बिहानदेखि ६ घन्टासम्म बयान लिइएको थियो ।
बिहीबार मात्रै उनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यससँगै बुटवल, काठमाडौं र चितवनका विभिन्न सहकारीको बचत रकम पनि अपचलन गरेको उनीमाथि आरोप छ ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्लाले पनि उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुरुप लामिछानेको बयानका लागि बिहीबार काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार उनलाई यहाँ ३ दिनसम्म राखिनेछ ।
काठमाडौंमा पहिलो दिनको बयान ६ घन्टासम्म चलेको थियो । सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई पुन हिरासतमा लगिएको छ । बयान सुरु हुनभन्दा पहिलेदेखि नै माइतीघरस्थित सरकारी वकिलको कार्यालय अगाडि रास्वपाका कार्यकर्ताहरुको भीड लागेको थियो । सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट उनलाई निकालिएको थियो । कार्यकर्ताले उनलाई लगेको भेउ पाएनन् ।