परावर्तन सहकारीका बचतकर्ताको पैसामा सचिव र कोषाध्यक्षको मनमौजी, बिनाब्याज करोडौं उपभोग



काठमाडौं । परावर्तन बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष तथा सचिवले बचतकर्ताको अर्बौं रुपैयाँ बिना ब्याजमा प्रयोग गरेका छन् ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले २०८१ असार ६ गते सहकारी संस्थाको अनुगमनका क्रममा यस्तो देखिएको छ ।

अनुगमनका क्रममा कर्जा नवीकरण गर्दा संचालक समिति र कर्जा उपसमितीबाट निर्णय नहुने गरेको समेत पाइएको छ । बचतकर्ताको बचतमा केही व्यक्तिले मनलाग्दी प्रयोग गरेको पाइएको छ ।

सहकारीले बिना निर्णय कर्जा दिनुका साथै व्यवस्थापक तथा कोषाध्यक्ष राजु डंगोललाई बिना सेवाशुल्क आधा करोड कर्जा दिएको छ ।

त्यति मात्रै नभएर डंगोलले कार्यकारी पदमा रहेर मासिक ३१ हजार ६७६ रुपैयाँ पारिश्रमिक समेत संस्थाबाट लिने गरेका छन् ।

अनुगमनको क्रममा संस्थाका सचिव सन्तोष प्रजापतिलाई २०८० पुस १६ गते प्रबाह भएको ४५ लाख र २०८० असोज २४ गते ८ लाख कर्जा दिँदा सेवा शुल्क लिएको पाइएको छ ।

सचिव प्रजापतिलाई २०७३ असोज १७ गते प्रबाह भएको १८ लाख ९५ हजार को कर्जा बिना ब्याज दिइएको पाइएको छ ।
यस्तै प्रजापतिलाई २०८० पुस १६ मा प्रबाह भएको ४५ लाखको कर्जामा सेवा शुल्क नलिएको पाइएको छ ।

अनुगमनको क्रममा संस्थाले कर्जा मिलानको लागि ब्याज नदिने गरी चल्ती खाता खोल्ने गरेको पाइएको छ ।

संस्थाले कर्जा लगानी गर्दा एकाघरको साक्षी र व्यक्तिगत धन जमानी राख्ने गरेको भएपनि संस्थाका सचिव प्रजापतिले लिएको कर्जा तमसुकमा साक्षी र व्यक्तिगत धन जमानी नलिएको पाइएको छ ।

सचिव प्रजापतिलाई १ करोड ९३ लाख ९५ हजार रुपैयाँ कर्जा प्रबाह भएको छ ।

संस्थाले विभिन्न व्यक्ति र संस्थाका पदाधिकारीहरुलाई ४२ लाख ९२ हजार ११७ रुपैयाँ पेश्की जारी गरेको र त्यो फछ्यौट नभएको देखिएको छ ।

संस्थाको विनियममा सदस्यले बचत गर्न पाउने अधिक रकमको सिमा तोकिएको छैन । १३ जना सदस्यहरुबाट ५ करोड ३ लाख ८८ हजार ३६२ रुपैयाँ बचत रकम ३० लाख भन्दा बढी हुने गरी संकलन गरेको पाइएको छ ।

सहकहारीले २१ प्रतिशतसम्म ब्याज लिने गरेको पाइएको छ । औसत ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) गणना नहुने गरेको पाइएको छ ।

संस्थाले २२ वटा कर्जा शुन्य ब्याजदरमा लगानी गरेको पाइएको छ । यो रकम ५ करोड ३९ लाख ९२ हजार ८२१ रुपैयाँ रहेको छ । संस्थाले व्याजलाई मूलधनमा पुँजीकृत गरी व्याज लिने गरेको पाइएको छ ।

यस्तै संस्थाले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी विनियम नभएको र रिपोर्टिङ समेत नगर्ने गरेको पाइएको छ । सहकारीले ब्याजलाई समेत मूलधनमा जोडी कर्जा पुँजीकरण गर्ने गरेको पाइएको छ ।

स्थापनाकालदेखि नै संस्थाको अध्यक्षमा कृष्ण बहादुर डंगोल रहेकोका छन् ।


क्लिकमान्डु