चिनियाँ समकक्षीलाई भेट्न छेन्दु जाँदै परराष्ट्र मन्त्री राणा
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनस्थित सिचुवान प्रान्तको राजधानी छेन्दु भ्रमणमा जाने भएकी छन् ।
चीनको राजधानी बेइजिङको भ्रमण नगरि छेन्दुमा समकक्षीबीच भेटवार्ता हुनुलाई विशेष रुपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बिहीबार छेन्दु जाने मन्त्री राणा शनिबार नेपाल फर्कने कार्यक्रम छ । चीनका परराष्ट्र मन्त्री वाङ लीसँग विशेष भेटघाटका लागि परराष्ट्र मन्त्री राणा छेन्दु जान लागेकी हुन् ।
छेन्दुमा चिनियाँ परराष्ट्र मन्त्री र राणाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डामाथि छलफल हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गत ऋण समेत लिने गरि तयारी अघि बढाइसकेको अवस्थामा परराष्ट्र मन्त्री राणाको पार्टी नेपाली कांग्रेसले बीआरआई अन्तर्गत अनुदान मात्र लिने औपचारिक निर्णय गरिसकेको छ।
परराष्ट्र मन्त्री राणा र चिनियाँ समकक्षीबीच बीआरआई अन्तर्गत अनुदानमा कसरी कार्यक्रम सञ्चालन गर्ने र प्रधानमन्त्रीको भ्रमण कसरी सफल बनाउने भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।
चिनियाँ समकक्षीसँग भेटेर स्वदेश फर्किएपछि राणा प्रधानमन्त्रीको भ्रमण दलमा चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणाको छेन्दु भ्रमणको तालिका सोमबारको मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।